काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडले साउन २२ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा स्थानियलाई ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता शेयर विक्री गर्न लागेको हो । सर्वसाधारणका लागि १२ करोड ३० लाख बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ विक्री गर्न असार ३१ गते बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा स्थानीयमा शेयर जारी गर्न लागेको हो ।
आयोजना प्रभावितहरुका लागि छुट्याएको कुल कित्तामध्ये पनि कम्पनीले ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि ६० प्रतिशत अर्थात् ३ लाख कित्ता र अति प्रभावित क्षेत्र इलामा नगरपालिका वडा नम्बर ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नम्बर ४ र ५ का वासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता शेयर विक्री गर्नेछ ।
यो शेयर छिटोमा भदौ ४ गतेभित्र विक्रीमा रहनेछ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भदौ २० गतेसम्मको मिति कम्पनीले तोकेको छ । यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सकिनेछ । नेपाल एसबिआई मर्चेण्ट बैैंकिङ लिमिटेड रहेको छ ।
विक्री प्रबन्धसँगै नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको यस आईपीओलाई इक्रा नेपालले दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्युअर रेटिङ्ग डबर बी माइनर रेटिङ प्रदान गरेको छ ।
यस पावर कम्पनीले इलाम जिल्लामा ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।