काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओ बाँडफाँड कार्य सम्पन्न भएको छ । कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म निष्काशनमा ल्याएको शेयर शनिवार आज बाँडफाँड भएको हो । १० कित्ताको दरले ५ लाख ४० हजार जनाले मात्र गोलाप्रथा मार्फत शेयर पाएका छन् ।
सानिमा लाइफको आईपीओमा २४ लाख १९ हजार ८४८ बढीले आवेदन दिएका थिए । २३ लाख ८ हजार १२२ आवेदक योग्य थिए । एक लाख ११ हजार ७२६ जनाको आवेदन रद्ध भएका छन् । योग्य आवेदकहरु मध्येबाट ५ लाख ४० हजार आवेदकलाई १० कित्ताको दरले शेयर वितरण गरिएको हो ।
तीन अर्ब ६९ करोड ४३ लाख ४४ हजार रुपैयाँ रकम बराबरको तीन करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । उक्त कम्पनीकानुसार मागको तुलनामा ६.८४ गुणा बढीको आवेदन परेको थियो ।
कम्पनीले निष्कासन गरेको शेयरमध्ये तीन लाख कित्ता कर्मचारीलाई, तीन लाख कित्ता सामूहिक लगानी कोषलाई सुरक्षण गरी बाँकी ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।