काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्ना कर्मचारीलाई वार्षिक १० दिन पर्यटन विदा दिने भएको छ । प्राधिकरण सञ्चालक समितिले कर्मचारीलाई १० दिन पर्यटन विदा दिने निर्णय गरेको हो । मंगलबार आयोजित प्राधिकरणको ३६ औं वार्षिकोत्सवमा बोल्दै प्राधिकरण सञ्चालक समितिका अध्यक्ष तथा ऊर्जा, , जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले कर्मचारीहरुलाई वार्षिक १० दिन पर्यटन विदा दिने निर्णय गरेको जानकारी दिईन् ।
त्यसैगरी उक्त कार्यक्रममा बोल्दै मन्त्री भुसालले विचौलियामार्फत आफूलाई सरुवा बढुवा गर्न नआउँन पनि चेतावनी दिइन् । त्यस्ता कर्मचारीहरु नेकेटिभ लिष्टमा पर्नेसमेत बताइन् । प्राधिकरण जिम्मेवार बनेर जनतालाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउनु पर्नेमा उनको जोड छ । ‘भनसुन गर्न मेरोमा नआउँनु होला । त्यसो गरे नेगेटिभ लिष्टमा राख्ने छु ।’ उनले भनिन्, ‘कार्य क्षमतालाई हेरेर तपाईंहरुको सरुवा बढुवा हुन्छ । कामलाई प्राथमिकता दिनुहोस् ।’ त्यस्तै कृषिमा प्रयोग हुने विद्युत् उपलब्धतामा सहुलियत दिने योजना सरकारले गरेको उनको भनाईछ ।
कार्यक्रममा ऊर्जा सचिव देवेन्द्र कार्कीले जनताको हितमा प्राधिकरणले ल्याएका नयाँ योजनाहरुलाई सधै साथ दिने जानकारी दिए । हिउँदको समयमा भारतबाट विद्युत् आयात गर्नुपर्ने वाध्यतालाई अन्त्य गर्न आफ्नै स्रोतसाधनले नै बढि क्षमताका आयोजना निर्माण गरेर प्रशारणमा ल्याउँनु पर्नेमा उनको जोड छ ।
त्यसैगरी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपभोक्तालाई नियमित, भरपर्दाे र गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउनु नै प्राधिकरणको मूल उद्देश्य रहेको जानकारी दिए । उनले कोभिड–१९ माहामारीका कारण संस्थाको दैनिक काम कारबाही तथा आयोजनाको निर्माण कार्य प्रभावित हुँदा आगामी दिनमा केही चुनौती देखिएको बताए ।