काठमाडौं । बुुधबार (आज) जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभावले देशभर सामान्य बदली रही तीन ओटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । न्यूनचापीय क्षेत्रको प्रभाव रहनुका साथै मनसुन न्यूनचापीय रेखा औसत स्थान नजिक रहेकाले केही स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।
विभागका अनुसार बिहीबार (भोली) देखि उक्त न्यून चापीय रेखा औसत स्थानभन्दा तल सर्ने सम्भावना रहेकाले भारी वर्षा हुने छैन ।
हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । राति देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा वाग्मती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।