काठमाडौं । नेपाल र चीन सरकार बीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको देखाएको छ । चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा यहाँ ग्यास र पेट्रोल भएको पुष्टि गरेको बताइएको छ ।
चिनियाँ टोलीले प्रतिवेदन पठाएपछि उत्खननका लागि थप प्रक्रिया अघि बढाइएको बताइएको छ । कति परिमाणमा पेट्रोलियम पदार्थ वा ग्यास छ भनेर अन्तिम सर्भे हुने बताइएको छ । कोरोना भाइरस संक्रमणको कारण देखाउँदै विज्ञ तथा प्राविधिकको टोलीलाई चीन सरकारले आउने अनुमति दिएको छैन । अहिले विज्ञ टोली चीनको प्राकृतिक स्रोत मन्त्रालयको अनुमति कुरेर बसेको छ ।
दैलेखका विभिन्न ठाउँमा २०७६ असोजदेखि अन्वेषणको काम शुरु गरिएको थियो । विभागले श्रीस्थान, पादुका, कोटिला, दैलेख बजार तथा कर्णाली राजमार्ग आसपासका क्षेत्रमा ड्रिलिङको काम सकिएको बताएको छ । करीब १० वर्षअघि पनि दैलेखमा बलेको ग्यासकै कारण नेपालको कुनै भू–भागमा पेट्रोलियम पदार्थ हुनसक्छ भन्दै केही अन्तरराष्ट्रिय कम्पनीले नेपालका विभिन्न १० ओटा जिल्लामा अन्वेषण शुरु गरेका थिए ।
विभिन्न कारणले अन्वेषणका काम हुन नसकेपछि सरकारले सम्झौता रद्द गरेर चीनसँग नयाँ सम्झौता गरेको थियो । तत्कालीन समयमा ७२ लाख बढी अमेरिकी डलर खर्च गरिएको खानी तथा भूगर्भ विभागको तत्थ्याङ्कमा उल्लेख छ ।