विराटनगर । उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्याकं संकलनको कार्य असोज १० गते (हिजो) बाट सुरुगरेको छ । तथ्य र तथ्याकंमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न सबै औद्योगिक प्रतिष्ठानहरूको औद्योगिक तथ्याकं संकलन गरि डाटाबेस तयार गर्ने लक्ष्य लिएको संगठनले बताएको छ ।
सुनसरी–मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक सर्वेक्षण – २०७८ सुरु गरिएको जानकारी दिँदै संगठनका अध्यक्ष सुयश प्याकुरेलले एक पटक यस्तो डाटाबेस तयार भएपछि नियमित रुपमा अद्यावधिक गरिने योजना रहेको जानकारी दिए ।
संगठनले सञ्चालन गरेको औद्योगिक सर्वेक्षणले सुनसरी र मोरङ गरि संगठनका सदस्य औद्योगिक प्रतिष्ठानहरूको सबै र बाँकी अन्य उद्योगहरूको समेत तथ्याकं संकलन गरिने कार्यक्रम रहेको संगठनका महानिर्देशक चुडामणी भट्टराईले जानकारी दिए । उनका अनुसार उद्योगका विविध आयामहरू समेटिएका करिब १०० वटा प्रश्नहरू लिएर ५ जना गणकहरू तथ्याकं संकलनका लागी सबै उद्योग प्रतिष्ठानहरू पुग्ने छन् ।
संगठनले तथ्याकंको गुणस्तरियतालाई मध्यनजर गर्दै गणकहरूका लागी २ दिनको तालिम समेत सञ्चालन गरेको थियो । महानिर्देशक भट्टराईका अनुसार गणकहरूले मोवाइल एपबाट तथ्याकं संकलन गर्ने छन र यसरी संकलन गरिएको तथ्याकंको गुणस्तरीयता अनलाइन बाटै मोनिटर गर्न सकिने छ ।