काठमाडौं। नेपाल विद्युत प्राधिकरणले ४९० मेगावाटको अरुण-४ जलविद्युत आयोजना पनि आफैले निर्माण गर्ने भएको छ। संखुवासभाको मकालु गाउँपालिकामा निर्माण हुने यो आयोजना अर्धजलाशययुक्त जलविद्युत आयोजना हो।
प्राधिकरणले संखुवासभामा १ हजार ६१ मेगावाटको माथिल्लो अरुण र ३० मेगावाटको इखुवा खोला जलविद्युत आयोजनाको पनि अध्ययन गरिरहेको छ।
अरुण नदीमा अहिले ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना निर्माणाधिन छ। भारतीय कम्पनी सतलज जलविद्युत निगमले उक्त आयोजना निर्माण गरिरहेको छ। त्यस्तै सतलजलेनै ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना पनि निर्माण गर्दै छ।
विद्युत उत्पादन कम्पनीले ४५० मेगावाटको किमाथांका अरुण, ग्रेट हाइड्रोपावरले १०९ मेगावाटको अपर बरुण आयोजनाको अध्ययन गरिरहेका छन्। एम्पिक पावरले १३२ मेगावाटको तल्लो बरुण आयोजनाको निर्माण अनुमति मागेको छ।