काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा मंगलबार (आज) देखि काठमाडौं जिल्लामा लगाइँदैछ । काठमाडौं महानगरपालिका तथा कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, कागेश्वरी मनोहरा, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिका १८ वर्षमाथिकालाई दोस्रो मात्रा दिन लागिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयले काठमाडौं महानगरमा नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रिरोग अस्पताल र निजामती कर्मचारी अस्पतालबाट खोप लगाइने जानकारी दिएको छ । यी अस्पतालमा आज र भोली खोप दिइनेछ भने बाँकी स्थानीय तहमा तीनदिनसम्म खोप लगाउन पाइनेछ।
काठमाडौं महानगरको हकमा १० कात्तिक सबै वडामा खोप केन्द्र सञ्चालन हुनेछ । खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहित आउन पनि स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।