Thursday, January 23Nepal News Portal
Shadow

जोर्डनको तयारी पोसाक उद्योग क्षेत्रमा नेपाली पठाउने प्रक्रिया सुरु


काठमाडौं। सरकारले जोर्डनको गार्मेन्ट क्षेत्रमा नेपाली श्रमिक पठाउने प्रक्रिया अगाडि बढाएको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार इजिप्टको कायरोस्थित नेपाली दूतावासलाई मागपत्र प्रमाणीकरणको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ।
परराष्ट्र मन्त्रालयले प्रतिमहिना नेपाली कामदारले प्राप्त गर्ने तलब र अन्य सुविधाबापतको रकम अमेरिकी डलर ३०० भन्दा घटी नहुने सुनिश्चितता भएको रोजगारदाता कम्पनीको ग्यारेन्टी पत्रसमेत अतिरिक्त कागजात भएमा मात्र मागपत्र प्रमाणीकरण गर्न निर्देशन दिएको छ।

गत बिहीबारको परराष्ट्र मन्त्रिस्तरीयबाट उक्त प्रक्रिया शुरु भएको हो। कायरोस्थित दूतावासबाट मागपत्र प्रमाणीकरणको निर्णय भएको जानकारी परराष्ट्रले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पठाएको छ। यसअघि श्रम स्वीकृति लिई जोर्डन गएका र हाल त्यहाँ कार्यरत नेपालीले प्रतिमहिना तलब तथा अन्य सुविधाबापत मासिक अमेरिकी डलर ३०० भन्दा बढी नै प्राप्त गरिरहेका छन्।

जोर्डनमा कार्यरत केही नेपाली श्रमिकले सरकारले तोकेको न्यूनतम पारिश्रमिकसमेत नपाएको भन्दै कायरोस्थित दूतावासले मागपत्र प्रमाणीकरण गर्न छाडेको थियो। मागपत्र प्रमाणीकरण रोकिँदा श्रम मन्त्रालयअन्तर्गतको सुरक्षित आप्रवासन केन्द्रबाट तालिम लिएका नेपाली जोर्डन जान सकेका थिएनन्।

श्रम मन्त्रालयले जोर्डनमा नेपाली श्रमिकको माग बढेको, श्रमिक भर्ना प्रक्रिया मर्यादित रहेको र जोर्डन नेपाली श्रमिकका लागि सुरक्षित गन्तव्यका रुपमा रहेकाले मागपत्र प्रमाणीकरण गर्ने निर्णय कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयललाई पत्र लेखेको थियो। (रासस)

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्