Thursday, September 12Nepal News Portal
Shadow

मोरङ व्यापार संघद्वारा जोगवनी नाकाबाट निकासी पैठारी तत्काल सुचारु गर्न माग


विराटनगर । मोरङ व्यापार संघले परराष्ट्र मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । सोमवार मोरंग व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजाल र पूर्व अध्यक्ष महेश जाजूले परराष्ट्र मन्त्री नारायण खड्कालाई भेटी विराटनगर जोगवनी नाकाबाट भइरहेको निकासी पैठारी तत्काल सुचारु गर्न ज्ञापनपत्र बुझाएका हुन् ।

जोगवनी नाकाभन्दा ४ किलोमिटर दक्षिणपश्चिममा रहेको मिरगञ्जमा फलामे पुल भासिदा पाँच दिनदेखि भारतलगायत तेश्रो मुलुकबाट आएका सामान तथा औद्योगिक कच्चा पदार्थ आउन सकेको छैन भने नेपालबाट भारतलगायत अन्य मुलुक जाने सामान निकासी हुन सकेको छैन ।  जसका कारण अर्बाैं रुपैयाँको मालसामान गाडीमा नै सडकमा लामबद्ध भएर अलपत्र परेका छन् ।

ज्ञापनपत्रमा भारत सहित तेश्रो मुलुकबाट नेपाल भित्रने मालवाहक सवारी साधनहरुका लागि हाल भारतको भीमनगर–भन्टाबारी भन्सार नाकासहित अररिया जिल्लाको अररिया – कुर्सा कांटा – जोगबनी मार्गलाई वैकल्पिक मार्गको रुपमा सञ्चालनमा ल्याउन अनुमति दिनु पर्ने, जिर्ण अवस्थाको मीरगञ्ज पुलको तत्कालै मर्मत गर्नुपर्ने उल्लेख छ ।

ज्ञापनपत्रमा समानान्तरमा अन्तिम चरणमा निर्माणाधीन नयाँ पुलको निर्माण कार्य यथाशिध्र सम्पन्न गराउनु पर्ने तथा तत्कालिक रुपले सो नयाँ पुलको एक लेन भएपनि सञ्चालनमा ल्याउनु पर्ने आदि सुझाव एवं माग राखी मालवाहक सवारी साधनहरुको आवागमन सुचारु गर्न माग गरिएको छ ।

परराष्ट्र मन्त्री खड्काले विराटनगर जोगवनी नाकाबाट हुने निकासी पैठारी पूर्ववत : सञ्चालनका लागि आफुले भारत सरकारसँग कुरा राख्ने आश्वासन दिएका छन् ।

पुल क्षतिग्रस्त हुँदा गत पौष २२ गते, दिनको २ बजे देखि भारतको स्थानीय प्रशासनले सो पुल मार्फतको आवागमनमा पूर्ण रोक लगाएकोमा सो को तत्कालै निराकरण गर्न मोरंग व्यापार संघका अध्यक्ष प्रकाश मून्दडा सहितको टोलीले स्थलगत निरिक्षण गर्दै शुक्रवारदेखिनै नेपालसहित भारतका विभिन्न निकायहरु समक्ष पत्राचार गरेको थियो ।

संघले प्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग, जिल्ला प्रशासन कार्यालय र विराटनगर भन्सार कार्यालयसहित भारततर्फ सडक परिवहन तथा राजमार्ग मन्त्रालय, नेपालस्थित भारतीय दूतावास, भारतको पटनाका भन्सार कमिश्नर, जोगबनी ल्यान्ड कस्टम्स स्टेशन, अररियाका जिल्ला अधिकारी र फोरबेशगंजका सब–डिभिजिनल मजिष्ट्रेट लगायतलाई पत्राचार गरिसकेको छ ।

त्यसैगरि नेपाल उद्योग परिसंघ प्रदेश नम्वर १, उद्योग संगठन मोरङले पनि भारतका भन्सार अधिकारीहरुलाई भेटेर तत्कालै निकासी पैठारी सुचारु गर्न बैकल्पिक बाटोको ब्यवस्थाका लागि ध्यानाकर्षण गराएको छ । abhiyandaily.com

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्