काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि परेका आवेदनमध्ये दोस्रो चरणमा ३ जना छनोट भएका छन् । पहिलो चरणमा छनोटमा परेका ५ जनामध्ये सिफारिस समितिले तीन जनालाई छनोट गरेको हो । स्रोतका अनुसार छनोटमा परेका तीन जनामा कृष्णबहादुर कार्की, केशवप्रसाद श्रेष्ठ र रमेशकुमार भन्डारी छन् ।
उक्त पदका लागि ११ जनाले आवेदन दिएका थिए । तीमध्ये पहिलो चरणमा उल्लेखित ३ जनासहित प्रविन पन्दाक र रमेश घिमिरे छानिएका थिए ।
नेप्सेमा सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको छ । समितिमा मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्वअध्यक्ष जीवनाथ धिताल छन् ।
सिफारिस समितिले सोमबार बिहान तीन जनाको नाम अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको छ । मन्त्रिपरिषदले सिफारिसमा परेकामध्येबाट एक जनालाई नेप्सेको सीईओ नियुक्त गर्नेछ ।