Wednesday, February 12Nepal News Portal
Shadow

६ कम्पनीलाई एकै पटक आईपीओ निष्कासन गर्न अनुमति, कुन–कुन हुन हेर्नुहोस् सूचिसहित


काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले ५ महिनापछि एकै पटक ६ वटा कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । बोर्र्डले माघ ९ गते बलेफी हाइड्रोपावर, ग्रीन भेन्चरस् लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थ, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपाललाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।

बलेफि हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण समेतमा कुल ३६ लाख ५५ हजार ९४० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । बोर्डले यो कम्पनीलाई स्थानीयका लागि रू. ३६ करोड ५५ लाख ९४ हजार बराबरको शेयर निष्कासन गर्न अनुमति दिएको छ । कम्पनीले उक्त शेयर निष्कासन गर्न बोर्डमा २०७७ साल फागुन २५ गते निवेदन दर्ता गराएको थियो ।

त्यस्तै ग्रीन भेन्चरस् लिमिटेडले पनि आयोजना प्रभावित स्थानिय र सर्वसाधारणमा कुल ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि २०७७ साल फागुन २८ गते बोर्डमा निवेदन दिएको थियो । यो कपनीलाई रु. ६२ करोड ५० लाख बराबरको शेयर स्थानीयका लागि निष्कासन गर्न अनुमति दिइएको छ ।
त्यसैगरी जाल्पा सामुदायिक लघुवित्तलाई रु. ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता र राष्ट्र उत्थान लघुवित्तलाई रु. ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न स्वीकृति दिइएको हो । जाल्पा सामुदायिक लघुवित्तले २०७८ साल असार २० गते र राष्ट्र उत्थान लघुवित्तले २०७८ साल असार २४ गते बोर्डमा निवेदन दिएका थिए ।

नेष्डो लघुवित्तले रु. ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । यो कम्पनीले २०७८ असार ६ गते बोर्डमा निवेदन दिएको थियो । त्यसैगरी इमर्जिङ नेपाललाई रु. ५ करोड ५५ लाख ६० हजार बराबरको  ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासनका लागि अनुमति दिइएको छ । यो कम्पनीले गत असार १७ गते आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको थियो ।

प्राथमिक बजारमा सामलिङ पावर कम्पनी लिमिटेडको आईपीओ पश्चात पछिल्लो समय आईपीओ निष्कासन भएको छैन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्