काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ४ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले रु. ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो।
निष्काशन गरिने कुल ८ लाख ५० हजार कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
सो आइपीओमा छिटोमा फागुन ८ गतेसम्म र उक्त अवधिसम्म माग अनुसार आवेदन नपरे ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २६ करोड पुग्नेछ।
यस संस्थामा नेपाल ग्रामिण विकास संस्थाको ७ लाख ५० हजार कित्ता, राष्ट्रिय वाणिज्य बैंकको ५ लाख ५० हजार कित्ता र प्रभु बैंकको ३ लाख कित्ता शेयर स्वामित्व रहेको छ । आईपीओ निष्कसन पश्चात कम्पनीमा संस्थापक शेयरधनीको हिस्सा ६७ दशमलव ३१ प्रतिशत र कर्मचारीसहित सर्वसाधारण शेयरधनीको हिस्सा ३२ दशमलव ६९ प्रतिशत रहने छ ।
कम्पनीले चालू आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमाससम्म खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४८ प्रतिशत वृद्धि गरेको छ ।
कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ४८ लाख रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ३ करोड ६८ लाख पुगेको हो ।
यस वित्तीय संस्थाले ९५ ओटा शाखा कार्यालयमार्फत ग्रामिण भेगमा वित्तीय सेवा दिँदै आएको छ । आव २०७७÷७८ को अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रु. २६ दशमलव ९२ थियो भने कम्पनीले आर्थिक वर्ष २०७८÷७९ को अन्यसम्ममा ३० दशमलव ९८ प्रतिशत पुुर्याउने प्रक्षेपण गरेको छ ।