काठमाडौं । १७ ओटा विकास बैंकको निक्षेप र कर्जाबीचको व्याजदर अन्तर (स्प्रपेडदर) औसत ४ दशमलव २२ प्रतिशत कायम भएको छ । विकास बैंकहरुले जारी गरेको चालू आर्थिक वर्ष (आव) २०७८÷७९ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार सबैभन्दा बढी स्प्रेडदर सिन्धु विकास बैंकको रहेको छ । नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनीहरूलाई स्प्रेडदर ५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरेको भएपनि सिन्धु विकास बैंकको स्प्रेडदर राष्ट्र बैंकले गरेको व्यवस्थाभन्दा बढी छ ।
चालू आवको दोस्रो त्रैमासमा यो बैंकको स्प्रेडदर ५ दशमलव २२ प्रतिशत कायम छ । गत आवको दोस्रो त्रैमासमा यो बैंकको स्प्रेडदर ६ दशमलव ३७ प्रतिशत थियो । राष्ट्र बैंकले तोकेको स्प्रेडदर बैंक तथा वित्तीय संस्थाहरुले कायम नगरे कानूनी कारवाही हुने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले जनाकारी दिए । ‘राष्ट्र बैंकले स्पष्ट भनेको छ, विकास बैंकहरुले ५ प्रतिशतभन्दा बढी स्प्रेडदर बढाउन हुन्न । सोही अनुसार स्प्रेडदर बैंकहरूले कायम गर्नु पर्छ । यो मासिक रूपमा कायम गर्नु पर्ने व्यवस्था हो,’ उनले भने ।
सबैभन्दा बढी स्प्रेडदर घट्नेमा कर्णाली डेभलपमेण्ट बैंक
चालू आवको दोस्रो त्रैमासमा ३ ओटा बैंकले स्प्रेडदर २ विन्दुभन्दा बढीले घटाएका छन् । सबैभन्दा बढी स्प्रेटदर घटाउनेमा कर्णाली डेभलपमेण्ट बैंक रहेको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको दोस्रो त्रैमासमा यो बैंकको स्प्रेडदर ४ दशमलव शून्य ३ प्रतिशतले घटेको छ । यो बैंकको स्प्रेडदर गत आवको दोस्रो त्रैमासमा ८ दशमलव ९९ थियो भने चालू आवको सोही अवधिमा ४ दशमलव ९६ प्रतिशत कायम भएको छ । बढी स्प्रेडदर घटाउनेमा सप्तकोशी डेभलपमेण्ट र एक्सल डेभलपमेन्ट बैंक रहेका छन् । यी बैंकको २ विन्दुभन्दा बढीले स्प्रेटदर घटेको छ ।