काठमाडौं । मनाङको मनाङ ङिस्याङ गाउँपालिका उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरूङ ७४४ मत ल्याएर विजयी भएका छन्। उक्त गाउँपालिकाको उपाध्यक्ष उम्मेदवार राप्रपाका ज्यामयाङ टासी गुरूङले जम्मा एक मत पाएका छन्।
स्थानीय तह निर्वाचनको देशभर जारी छ । केही स्थानीय तहको अन्तिम मतपरिणाम समेत आइसकेको छ। पालिकादेखि वडा कार्यालयको समेत अन्तिम मतपरिणाम आइरहेको छ।
सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलका उम्मेदवारहरूबीच नै प्रतिस्पर्धा चलिरहेको छ। कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन् ।
तर, काँही काँही यस्तो पनि हुन्छ जहाँ आफ्नै घरका सदस्यहरूले समेत पत्याएको देखिँदैन। मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा उम्मेदवार बनेका यामयाङ टाँसीलाई आफूबाहेक कसैले पनि पत्याएनन्। राप्रपाबाट उम्मेदवार बनेका टाँसीले मात्र एक मत पाएका छन् त्यो पनि आफ्नै ।
जहाँ एमालेका कान्छा घले निर्वाचित भएका थिए । उनले ८६१ मत पाएका थिए। तीन हजार ५ सय ३५ मतदाता रहेको ङिस्याङमा एक हजार पाँच सय ७४ मत खसेको थियो। तर, टाँसीले एक मत मात्र पाए।
धादिङको ज्वालामुखी गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्षका लागि उम्मेदवारी दिएका एकीकृत समाजवादीका उम्मेदवार दिवश कार्कीले एक मत मात्रै पाए। २९ वर्षीय कार्कीले आफ्नो मात्र भोट पाएका हुन्।
वडाध्यक्षमा ६२० मत ल्याएर कांग्रेसका राजु लोप्पा विजयी भए। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका अर्जुन शाही ठकुरीले ६१७ मत पाए। तीन मतको अन्तरले लोप्पा विजयी भएका थिए । एक हजार ७७४ मत खसेको थियो।
धादिङ र मनाङका उम्मेदवारले मात्र नभएर अन्तिम मतपरिणाम सार्वजनिक भइसकेका कतिपय स्थानीय तहका कतिपय उम्मेदवारले एक मत मात्र पाइरहेका छन्। यस्ता उम्मेदवारको धरौटीसमेत जफत हुनेछ।
नगरपालिका वा गाउँपालिकाको प्रमुख पदमा उम्मेदवारी दर्ताका लागि १५ सय रुपैयाँ धरौटी राख्नुपर्छ। त्यसमा महिला, दलित तथा अल्पसंख्यक समुदायका वा विपन्न उम्मेदवारलाई आधा छुट हुने व्यवस्था छ।
वडाध्यक्षका लागि एक हजार र सदस्यका लागि पाँच सय रुपैयाँ धरौटी तिर्नुपर्छ। उम्मेदवारले सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएको अवस्थामा त्यस्तो धरौटी जफत हुने व्यवस्था छ । जफत भएको रकम सञ्चित कोषमा जम्मा हुनुपर्ने नियम छ।