काठमाडौं । चालु आर्थिक वर्षको दश महिनामा २४७ स्वदेशी उद्योगका लागि करिब ३ खर्ब रुपैयाँ लगानी स्वीकृत भएको छ । उद्योग विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि बैशाखसम्म स्वदेशी लगानीका २४७ वटा उद्योग दर्ताका लागि २ खर्ब ९७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको हो ।
विभागका अनुसार यस अवधिमा विभिन्न क्षेत्रका साना, मझौला र ठूला गरी उद्योग दर्ताका लागि उक्त बराबरको रकम स्वीकृत भएको छ । लगानी स्वीकृत भएका उद्योगहरुमा ठूला उद्योग ७१ वटा मझौला उद्योग ८६ वटा र साना उद्योगहरु ९० वटा रहेका छन् । यस अवधिमा लगानी स्वीकृत भएका उक्त उद्योगहरुमा २३ हजार २७९ जनालाई रोजगारीको प्रस्ताव गरिएको छ ।
विभागका अनुसार चालु आवको पहिलो महिना साउनमा २८ अर्ब २१ करोड रुपैयाँ लगानीका १७ वटा उद्योग दर्ता भएका थिए । त्यस्तै, भदौमा २३ अर्ब ९२ करोड रुपैयाँ लगानीका २० वटा, असोजमा ६९ अर्ब ११ करोड रुपैयाँ लगानीका २६ वटा, कात्तिकमा १३ अर्ब ७ कारेड रुपैयाँ लगानीका २८ वटा र मंसिरमा १६ अर्ब ९८ करोड रुपैयाँ लगानीका १७ वटा उद्योग दर्ता भएका थिए ।
यसैगरी पुस महिनामा २१ अर्ब १२ करोड ५२ लाख रुपैयाँ लगानीका साना, मझौला र ठुला गरी १६ वटा उद्योग दर्ता भएका थिए । यस्तै, माघ महिनामा ५३ करोड १५ लाख रुपैयाँ लागनीमा सात वटा, फागुनमा २२ अर्ब ८९ करोड रुपैयाँ लगानीका २२ वटा, चैतमा ३७ अर्ब ८१ करोड रुपैयाँ लगानीका २८ वटा र बैशाखमा ३१ अर्ब ३९ करोड रुपैयाँ लगानीका १५ वटा उद्योग दर्ता भएका हुन् । विभागका अनुसार यस अवधिमा विदेशी लगानीका १६३ वटा उद्योग दर्ता भएका छन् । दर्ता भएका उक्त उद्योगहरुमा ३८ अर्ब ५५ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ ।
सुरुवातदेखि हालसम्म स्वदेशी लगानीका ८ हजार ९३४ वटा उद्योग दर्ता भएका छन् । जसमध्ये ठूला उद्योग एक हजार ३३२ वटा, मझौला उद्योग २ हजार ७७ वटा र साना उद्योग ५ हजार ५०५ वटा रहेका छन् । विभागका अनुसार दर्ता भएका उक्त उद्योगका लागि २८ खर्ब ४७ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको छ । प्रस्तावित गरिएका उद्योगहरुबाट हालसम्म ६ लाख ७३ हजार ८८२ जनाले रोजगारी उपलब्ध गराउने प्रस्ताव पेश गरेका छन् ।