काठमाडौं । पछिल्लो २ साता याता लगातार परिरहेको पानीले कतै नेपालमा मनसुन सुरू भएको होइन? भन्ने जिज्ञासा लाग्नु स्वभाविक हो।
नेपालमा सामान्यतया मनसुन जुनको दोस्रो साताबाट सुरु हुने भए पनि हरेक वर्ष ठिक यही समयमा मनसुन सुरु हुन्छ भन्ने हुँदैन। यो मितिभन्दा केही दिन अगाडि र केही दिन पछाडि पनि हुनसक्ने मौसमविद्हरू बताउँछन् ।
मौसम विज्ञान विभागले मनसुनबारे मौसमी प्रणालीमा अध्ययन भइरहेको जानकारी दीएको छ। नेपालमा अहिले नै मनसुन सुरू नभएको मौसमविद्ले जानकारी दिए।
सामान्यतः भारतको केरलामा मनसुन सुरू भएको सातादेखि १० दिनभित्र नेपालमा पनि आइपुग्छ मौसमविद्को भनाइ छ।
‘केरलामा मनसुन सुरू भइसकेको छ। अब नेपालमा कति समयमा आउँछ, त्यो हामी अध्ययन गरिरहेका छौं,’ उनले भने।
नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपासमा रहेको न्यूनचापीय रेखा तथा पश्चिमी वायुको प्रभाव रहेको छ।
स्थानीय वायुको प्रभाव रहेको मौसमी प्रणालीमा कुनै पनि समय मौसममा बदली भएर हावाहुरी तथा चट्याङसहित क्षणिक वर्षा हुन्छ। यो मौसमी प्रणालीमा लामो समय पानी पर्दैन।
मनसुन सुरु भएपछि भने लामो समय देशका धेरै स्थानमा पानी पर्छ। पानी पर्दा खोला तथा नदीमा पानीको बहाव बढ्ने तथा बाढी आउने हुनसक्छ।
हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।