काठमाडौं, १२ मंसिर । जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाका विभिन्न ठाउँबाट ३८ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ। कात्तिक अन्तिम सातादेखि अवैध बन्दुक खोजीमा जुटेको प्रहरीले दुई हप्ताका अवधिमा ती बन्दुक फेला पारेको हो।
गत कात्तिक २८ गते बडिगाड गाउँपालिका(३ सिसाखानीबाट एक थान, मङ्सिर ४ गते ताराखोला गाउँपालिका ४ का विभिन्न ठाउँबाट १२ थान, मङ्सिर ५ गते ताराखोलाकै जुल्ले सामुदायिक वनबाट चार थान, सोही वडाको हर्पुखोलाबाट चार थान, मङ्सिर ११ गते ताराखोलाकै वडा नम्बर २ बाट नौ थान र वडा नं ५ बाट आठ थान बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले खोजतलास थालेपछि प्रयोगकर्ताले बन्दुक बेवारिसे अवस्थामा फालेको हुन सक्ने प्रहरी निरीक्षक विजय भण्डारीले बताए। अवैध बन्दुक कसले र किन बेवारिसे अवस्थामा फालेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए। रासस