काठमाडौं । कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत शनिबार(आज) देखि भारत निर्यात सुरु हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिबार(आज) राति १२ बजेदेखि निर्यात सुरु गर्न लागेको छ ।
प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मा बिहीबार(हिजो) देखि त्रिशुली र देवीघाट जलविद्युगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक करिब ३९ मेगावाट विद्युत निर्यात गरिरहेको छ ।
कालीगण्डकीको पनि सुरु भएसँगै प्राधिकरणले निर्यात गर्ने विजुली दैनिक १७७।७ मेगावाट पुग्नेछ । कालीगण्डकी ए को १४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट र देवीघाटको १४।५ मेगावाट विद्युत भारत निर्यात हुने छ ।
नदीनालामा पानीको वहाव बढेर विद्युतगृहहरु पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रुपमा खपत गरी बढी भएको विजुली भारत निर्यात गर्न थालिएको हो ।