काठमाडौं। नेपाल आयल निगमले बाराको अमलेखगञ्जमा पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारण गृह (ट्याङ्की) निर्माण गर्ने भएको छ ।
विसं २०७६ भदौ २४ गते भारतको मोतिहारीदेखि नेपालको बाराको अमलेखगञ्जसम्म ६९ किलोमिटर मल्टी पाइप ‘लाइन’ विस्तार गरेर डिजेल ल्याउन सुरु गरेको निगमले पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारण गृह निर्माण गर्न थालेको छ । पाइपलाइन विस्तार भएको ६९ किलोमिटर क्षेत्रमध्ये भारतमा ३३ र नेपालमा ३६ किलोमिटर भूभाग पर्दछ । उक्त पाइपलाइन विस्तारका लागि भारतीय आयल निगमले रु २ अर्ब भारतीय रुपैँया खर्च गरेको थियो ।
एउटै पाइपलाइनबाट पेट्रोल, डिजेल र मट्टितेल ल्याउन मिल्ने भए पनि भण्डारणका लागि छुट्टै भण्डारण गृह नहुँदा पेट्रोल र मट्टितेल पाइपलाइनबाट ल्याउन समस्या भईरहेको थियो । अमलेखगञ्जमा पेट्रोल र मट्टितेलको लागि भण्डारण गृह नहुँदा पाइपलाइनको उपयोग ५० प्रतिशतभन्दा कम भएको छ ।
अमलेखगञ्जमा हाल डिजेल भण्डारणका लागि दुई ४५ लाख लिटरका ट्याङ्की, एक ४१ लाख तथा अर्को ३९ लाख लिटरको ट्याङ्की रहेको छ । उक्त क्षेत्रबाट हाल एकैपटकमा २१ गाडीले डिजेल भर्न पाउँछन् । पाइपलाइनमार्फत भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म डिजेल ल्याँउदा निगमको वार्षिक रु दुई अर्ब रकम बचत हुँदै आएको छ ।
निगमले पेट्रोलको भण्डारण गृह निर्माणका लागि मंसिर २३ (हिजो) मात्र भारतीय निर्माण कम्पनी र भारतीय आयल निगम पटनाका प्रमुखसँग भेटेर छलफल गरेको छ । पाइपलाइन बनाएर पूर्णरुपमा प्रयोग गर्नका लागि पेट्रोल भण्डारण गृह बनाउन लागिएको इन्जिनियर यादवको भनाइ छ । उनले सन् २०२४ को जनवरीसम्म पेट्रोल भण्डारण गृह सम्पन्न गर्ने गरी काम अगाडि बढाउन लागिएको बताए ।
डिजेलका लागि भारत सरकारको अनुदानमा भण्डारण गृह निर्माण गरिदिए पनि पेट्रोल भण्डारणका लागि भने नेपाल आफैँले भण्डारण गृह बनाउन लागेको हो । त्यसका लागि एक अर्ब ५४ करोड भारतीय रुपैयाँ लाग्ने निगमले जानकारी दिएको छ । यस्तै, भारतले पनि अनुदानस्वरुप ८० करोड भारतीय रुपैयाँमा छुट्टै पेट्रोल ट्याङ्की निर्माण गरिदिने भएको छ ।
अमलेखगञ्जमा पेट्रोल भण्डारण गृह निर्माण भएसँगै नेपाल आयल निगमको मासिक १२ देखि १५ करोड तथा वार्षिक रु एक अर्ब ५० करोड रकम बचत हुनेछ । हाल अमलेखगञ्ज डिपोबाट डिजेल तथा पेट्रोल सङ्घीय राजधानी काठमाडौंसहित पोखरा, भैरहवा, चितवन, विराटनगरलगायतका क्षेत्रमा जाने गरेको छ ।