काठमाडौं । बैंक अफ काठमाण्डूको २८औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
साधारणसभाले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार तयार गरिएको वित्तीय विवरणहरू स्वीकृत गरेको हो।
साधारणसभाले बैंक अफ काठमाण्डू लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडबीच मर्जर प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन गरी मूल्यांकनकर्ताले सिफारिस गरेको सेयर स्वाप अनुपात १ः१ मा रही मर्जरसम्बन्धी विषयमा सञ्चालक समितिबाट भएका निर्णयहरू पारित गरेको छ ।
२०७८/७९ सम्मको सञ्चित मुनाफाबाट २०७९ असार मसान्तसम्ममा बैंकको कायम भएको चुक्तापुँजीको ६ प्रतिशतका दरले बोनस सेयर र करसहित १४.९५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ ।