काठमाडौं । अनाधिकृत रूपमा प्रिमियम बढाएर असुल गरेको साढे ४ अर्ब रुपैयाँभन्दा बढी ब्याज २५ वटा बैंकले फिर्ता गरेका छन् । २५ वटा वाणिज्य बैंकले न्यूनतम ४० लाख रुपैयाँदेखि ४८ करोड रुपैयाँसम्म प्रिमियम बढाएर असुल गरेको ब्याज फिर्ता गरेका हुन् ।
गत आर्थिक वर्षमा प्रिमियम बढाएर अनाधिकृत रुपमा असुलेको ब्याज फिर्ता गर्न २५ वटा बैंकलाई नेपाल राष्ट्र बैंकले निर्देशन दिएको थियो । बैंकहरुलाई आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणको प्रारम्भिक स्वीकृत पाएका २५ वटा बैंकले मात्रै ४ अर्ब ६६ करोड रुपैयाँ अनाधिकृत रूपमा प्रिमियम बढाएर ब्याज असुल गरेको पाइएको केन्द्रीय बैंकले जनाएको छ । उक्त रकम फिर्ता गर्ने शर्तमा वित्तीय विवरणलाई प्रारम्भिक स्वीकृति दिएको र अधिकांश बैंकहरुले उक्त रकम फिर्ता गर्ने अथवा असुल गर्नुपर्ने ब्याजमा मिलान गरिरहेको पाइएको हो ।