काठमाडौं, १४ मंसिर (ससं) । भक्तपुरको कमलविनायकस्थित पाइप लाइनबाट एक जना लागू औषधसहित पक्राउ परेका छन्।
सोही नगरपालिका वडा नम्बर ६ का २४ वर्षीय कान्छा सिजखु शनिबार बेलुका पक्राउ परेका हुन्। उनको साथबाट प्रहरीले एक किलो ५ सय ग्राम लागूऔषध गाँजा बरामद गरेको हो।
महानगरीय प्रहरी प्रभाग खरिपाटीबाट खटिएको टोलीले सिजखुलाई पक्राउ गरेको जनाएको छ।
शनिबारै दिउँसो प्रहरीले कैलालीको लम्कीचुहा नगरपालिका १० सुतैयाबाट ८.३६० ग्राम खैरो हेरोइनसहित भजनी नगरपालिका–५ लालबोझीका ३५ वर्षीय धनिराम चौधरीलाई पक्राउ गरेको छ।
त्यस्तै, बाराको कोल्हबी नगरपालिका ६ पर्सौना बजारबाट दुई किलो ७०० ग्राम अवैध लागू औषध अफिमसहित दुई जना पक्राउ परेका छन्।
शनिबार दिउँसो प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका(१६ का ४५ वर्षीय दुर्गाबहादुर मोक्तान र ४५ वर्षीय रविबहादुर सिञ्जाली मगरलाई पक्राउ गरेको जनाएको छ।
लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको प्रहरीले नम्बर नखुलेको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा मोटरसाइकलको सिटमा लुकाई राखेको अफिम सहित फेला पारी पक्राउ गरेको हो।