Sunday, April 13Nepal News Portal
Shadow

जति कडाइ गरेपनि घटेन चकलेटको आयात


काठमाडौं । सरकारले उच्च आयात कारण तरलता अभाव भएको भन्दै चकलेटको लगायत विभिन्न चरणमा कडाइ गरेको थियो । सरकारले गत वर्षको पुस र माघ महिना गरी दुई चरणमा विभिन्न ४७ वटा वस्तुको आयातमा कडाइ गरेको हो।

नेपाल राष्ट्र बैंकले विलासिताको वस्तुभन्दै पहिलो चरणमा २० वटा र दोस्रो चरणमा २७ वटा वस्तु गरी ४७ वटा वस्तुको आयातमा शतप्रतिशत र ५० प्रतिशत मार्जिनको व्यवस्था गरेको थियो । राष्ट्र बैंकले कडाइ गरेकोमध्ये चकलेक पनि एक हो ।

सरकारले चकलेट आयातमा शतप्रतिशत मार्जिनको व्यवस्था गरेको थियो । उक्त व्यवस्था हालै मात्रै खारेज गरेको छ । तर, सरकारले आयातमा कडाइ गरेपनि चकलेट आयातमा भने कुनै प्रभाव परेको छैन ।

भन्सार विभागको तथ्याङक्अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा मात्रै करिब डेढ अर्बको चकलेट आयात गरेको देखाउँछ । गत साउनदेखि पुस मसान्तसम्ममा नेपालले १ अर्ब ३४ करोड २२ लाख ७१ हजार रुपैयाँको ३२ लाख ४७ हजार १८१ केजी चकलेट आयात गरेको छ । साथै, नेपालले उक्त आयातित चकलेटबाट १ अर्ब ५ करोड ११ लाख ४६ हजार रुपैयाँ भन्सार महसुल संकलन गरेको छ ।

त्यस्तै, सरकारले गत वर्षको पुससम्ममा चकलेटको आयातमा कुनै कडाइ गरेको थिएन । विभागका अनुसार गत वर्षको ६ महिनाको अवधिमा नेपालले १ अर्ब ४१ करोड ८७ लाख ४९ हजार रुपैयाँको ४४ लाख ३४ हजार ११९ केजी चकलेट आयात गरेको थियो । जसमा सरकारले ९२ करोड २० लाख रुपैयाँ राजस्व संकलन गरेको हो । उक्त तथ्याङ्क हेर्दा चकलेट आयातमा शतप्रतिशत मार्जिनको व्यवस्था गर्दासमेत उच्च आयात भएको स्पष्ट छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्