Monday, July 15Nepal News Portal
Shadow

एउटै वडाले बिक्री गर्यो १४ करोडको सुन्तला


स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० ले यस वर्ष सुन्तला बिक्रीबाट १४ करोड रूपैयाँ आम्दानी गरेको छ ।

व्यावसायिकरुपमा सुन्तला खेती गरिरहेका किसानले ठेक्का तथा आफैँले बिक्री गरेर १४ करोडसम्म आम्दानी गरेका छन् । जिल्लामा धेरै क्षेत्रफलमा सुन्तला खेती गर्ने किसान १० नं। वडामा रहेका सुन्तला सुपरजोन स्याङ्जाका पूर्वसचिवसमेत रहेका मुक्ति अधिकारीले जानकारी दिए ।

“वडामा सुन्तला खेतीलाई व्यावसायिक बनाउने किसान धेरै हुनुहुन्छ, उहाँहरुले न्यूनतम ५० हजारदेखि अधिकतम ५० लाखसम्म आम्दानी गर्नुहुन्छ”, उनले भने ।

पाँच–सात लाख रुपैयाँदेखि १५–२० लाख आम्दानी गर्ने किसानको संख्या धेरै छ । किसानले बगैँचा नै ठेक्कामा दिने वा आफैँ टिपेर ठेकेदारलाई प्रतिकेजीका दरले बिक्री गर्दछन् । कोदो तथा मकै खेतीबाट जीविकोपार्जन गरिरहेका किसानले हाल व्यावसायिक रुपमा सुन्तला खेती गरेर बर्सेनि लाखौँ भित्र्याइरहेका छन् ।

सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानहरुले नयाँ बोट थप्नेका छन् । अबका केही वर्षमा उत्पादनसँगै आम्दानीमा पनि वृद्धि हुने उनको भनाइ छ ।

गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन बढे पनि बजार मूल्य गत वर्षको जति पनि नहुँदा अपेक्षा अनुसारको आम्दानी लिन नसकिएको किसानहरु बताउँछन् । प्रतिकेजी रू ५५ बाट बिक्री सुरु भएको सुन्तला अहिले प्रतिकेजी रू ९० मा बिक्री भइरहेको छ ।

अपेक्षाअनुसार बजार मूल्य नपाएपछि शीतभण्डार गरेर बिक्री थालिएको थियो । तर, व्यवस्थापकीय कमजोरीका कारण शीतभण्डारमा सुन्तला कुहिएपछि किसानहरु थप मर्कामा परेका छन् । जिल्लामा यस वर्ष रू एक अर्ब २५ करोडको सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र स्याङ्जाले जनाएको छ । रासस

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्