काठमाडौं । यस हप्ता नेप्से परिसूचक सामान्य अंक बढेको छ। गत हप्ता २१७८.८१ विन्दुमा बन्द भएको नेप्से, यस हप्ता ०.२० प्रतिशत अर्थात ४.४० अंक बढेर २१८३.२१ विन्दुमा पुगेको छ।
यस हप्ता सेन्सेटिभ इण्डेक्स १.९१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२० अंक बढेको छ। त्यस्तै, सेन्सेटिभ फ्लोट इण्डेक्स यस साता ०.७५ अंक घटेको छ।
यस हप्ता ४ कारोबार दिनका लागि खुलेको बजारमा, २ कारोबार दिन नेप्से उकालो लागेको थियो तर दुई कारोबार भने ओरालो लागेको थियो।
नेप्से सामान्य अंक बढेपनि यस साता कारोबार रकम भने घटेको छ। यस साता दैनिक औषतमा ३ अर्ब ३० करोडको शेयर खरिदबिक्री भएको छ। यो गत साताको दैनिक औषत कारोबार रकमको तुलनामा १५.४१ प्रतिशत कम हो। गत साता नेप्सेमा दैनिक औषतमा ३ अर्ब ९० करोडको शेयर खरिदबिक्री भएको थियो। यस हप्ता दैनिक औषत शेयर संख्या१८.४५ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १३.९७ प्रतिशत कम हो।
यस हप्ता नेप्सेको कुल बजार पूँजीकरण पनि सामान्य बढेको छ। गत साता ३१ खर्ब ४५ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस हप्ता ०.१५ प्रतिशत अर्थात ४ अर्ब रुपैयाँ बढेर ३१ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ।