काठमाडौं। दमक–६ स्थित फर्निचर लाइनमा रहेको बालाजी फर्निसिङमा शनिबार साँझ आगलागी भएको छ । विकास भट्टराईले सञ्चालन गरेको फर्निसिङमा शनिबार साँझ ७ बजे भएको आगलागीबाट फर्निसिङमा राखिएका अधिकांश सामान नष्ट भएको हो। आगलागीको कारण भने खुल्न सकेको छैन । आगलागीबाट फर्निसिङका कुर्सी, टेवल, तन्नालगायतका घरायसी सामान नष्ट भएका छन् ।
स्थानीय भगवान् बस्नेतको घरको भुइँतलामा रहेको पसल बन्द गरेर पुगेलगत्तै आगजनी भएको खबर आएको पीडित भट्टराईले बताएका थिए । आगजनीबाट लाखौं मूल्यका सामान जलेर क्षति पुगेको दमक–६ का वडाध्यक्षले बताएका छन्।
उनका अनुसार आगलागी दमक, उर्लाबारी, गौरादहको वारुणयन्त्र, प्रहरी तथा स्थानीयवासीको सहायताबाट नियन्त्रणमा आएको थियो । आगलागीबाट भएको क्षतिको विवरण संकलनकार्य भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताएका छन् ।
यही माघ १ गते दमक–६ कै नमुना बजारका छवटा पसलमा आगजनी हुँदा २ करोड बढी मूल्यका धनमालमा क्षति हुन पुगेको छ।