काठमाडौं। कपिलवस्तु बाणगङ्गा नगरपालिका–१० पटनाकी दिलकुमारी थापाले दुना–टपरी बेचेर मासिक २० हजार रुपैयाँ कमाउछिन्। थापाले विसं २०६६ देखि दुना–टपरी बनाउदै आएकी हुन् ।
घरबाट बाहिर निस्कन नखोज्ने उनलाई घरेलु तथा साना उद्योग कार्यालय र एक गैरसरकारी संस्थाले दुना–टपरी बनाउने तालिम दिएको थियो । थापाले भनिन् ‘तालिममा सक्रियतापूर्वक सहभागी भएर दुना–टपरी बनाउने सीप सिके, अहिले दुना–टपरी बनाउने पेसाबाट जीवनयापन चलाइरहेकी छु’,।
सुरुमा दुना–टपरी बेचेर पनि के जीविकोपार्जन होला भन्ने सोचेकी उनी अहिले मासिक २० हजार रुपैयाँ आम्दानी गर्ने भएकी छिन्। लालीगुराँस दुना–टपरी उद्योग नै दर्ता गरेर उनले व्यवसाय सञ्चालन गर्दैआएकी छन् । सुरुआती चरणमा ६ जना महिला मिलेर खोलेको उद्योग भए पनि अहिले उनी एक्लैले चलाएकी छीन् ।
सालको पातबाट बनाइने दुना–टपरीको खपत पनि राम्रै छ । जिल्लाका मुख्य बजार सदरमुकाम तौलिहवा, चार नम्बर, बहादुरगञ्जसम्म उनले बनाएर दुना–टपरी जाने गरेका छन् । हातैबाट दुना–टपरी बनाइने गरिन्छ । त्यसलाई राम्रो बनाउनका लागि मेसिनमा राख्ने गरिन्छ । १ लाख ५० हजार रुपैयाँको लगानीमा उनले मेसिनसमेत खरिद गरेकी छिन् ।
पूर्व वडासदस्यसमेत रहेर काम गरेकी थापा व्यवसायमा जोडिएकै कारण जनप्रतिनिधि हुने अवसर पाएको बताइन् । ‘गाउँलेबाट सालको पात खरिद गर्न थाले, यसले सम्पर्क विस्तार भयो, विसं २०७४ को स्थानीय तहको चुनाव उठेर जिते’, उनले विगत सुनाउँदै भनिन्, ‘दुना–टपरी उद्योगले मेरो व्यक्तिगत जीवनमा बदलाव ल्याएको छ ।’
पटना क्षेत्रमा जङ्गल पर्याप्त छ । सालका पात पाउन खासै समस्या छैन । जङ्गलमा खेर जाने सालको पात सदुपयोग गरेर आम्दानी गर्दा उनी आफै दङ्ग छिन् । विशेषगरी उनले बनाएका दुना–टपरी घरायसी र व्यावसायिक प्रयोजनका लागि ग्राहकले लैजानेगरेका छन् । चाडपर्व, पूजा, विवाह तथा मृत्यु संस्कारमा पनि हरियो दुना–टपरीको माग हुने गरेको छ ।
थापाले स्थानीयवासीले ल्याएको सालको पात खरिद गर्दै आएकी छन् । एक सय पातको ४० रुपैयाँ दिने गरेको उनले बताइन् । थापाले बेच्ने प्रतिदुना–टपरीको मूल्य आकारअनुसार सात रुपैयाँदेखि डेढ रुपैयाँसम्मको पर्छ । आफूले दुना–टपरी उद्योग सञ्चालन गर्दै आए पनि स्थानीय सरकारबाट कुनै सहयोग नमिलेको उनले बताइन् । आफू जनप्रतिनिधि हुँदा पटक–पटक यो कुरा उठाए पनि सुनुवाइ नभएको उनको गुनासो छ ।