काठमाडौं । सुमेरु सेक्युरिटिज र आई.ए.एफ.एसबीच बुधबार सहकार्यको सम्झौता भएको छ । बजारमा स्टक ब्रोकर नं. ३९ ले परिचित सुमेरु सेक्युरिटिजका संचालक प्रेम अग्रवाल र आई.ए.एफ.एस.का प्रबन्ध निर्देशक सुमन गौतमले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गर्दै हरेक साताको शुक्रबार लगानीकर्ताहरूलाई निःशुल्क सेयर शिक्षा तथा सेयर सचेतनाको कार्यक्रम सञ्चालन गर्न सहकार्य गर्ने सहमति गरेका हुन् ।
कार्यक्रममा बोल्दै सुमेरु सेक्युरिटिजका संचालक अग्रवालले प्रशिक्षण कार्यक्रमले लगानीकर्ताहरूको लगानी सचेतनाको वृद्धिमा मद्दत मिल्ने बताएका छन् । यस्ता कार्यक्रमले बजारमा लगानी गर्दा हुने जोखिम न्यूनीकरण गर्न लगानीकर्तालाई सजक हुने विश्वास अग्रवालले लिएका छन् ।
आई.ए.एफ.एसले आधारभुत विश्लेषण, प्राविधिक विश्लेषण, लगानी विश्लेषण तथा पोर्टफोलियो व्यवस्थापन र स्मार्ट इस्भेस्टर जस्ता पाठ्यक्रम पस्कने आई.ए.एफ.एसका प्रबन्ध निर्देशक सुमन गौतमले बताए। असाइनमेन्ट आधारित शिक्षा दिने बताएको आईएएफएसले तालिम लिने विद्यार्थी र लगानीकर्ताहरूलाई कक्षाकोठा सत्र, लाइभ ट्रेडिङ्ग अभ्यासहरू, अनलाइन सपोर्ट र विशेषज्ञ परामर्श दिने तयारी गरेको छ ।
आईएएफएसले सरस्वती पूजाको अवसर पारेर माघ १२ गते आफ्नो कार्यालय उट्घाटन गरेको थियो । काठमाडौंको ज्ञानेश्वरस्थित ज्ञानेश्वर टावर (सुमेरु सेक्युरिटिज रहेको भवन) को चौथौ तल्लाको कार्यालयको उद्घाटन सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले गरेका थिए ।