काठमाडौं । उचित मूल्य नपाएपछि चितवनका कृषकले सडकमा तरकारी फालेर प्रदर्शन गरेका छन् । आयातित तरकारीका कारण घाटा खाएर बिक्री गर्नुपरेको भन्दै चितवनका कृषकले सडकमा तरकारी फालेका हुन् ।
किसान संघर्ष समितिमार्फत नारायणगढको पुलचोकमा तरकारी पोखेर प्रदर्शन गरिएको थियो। किसानले घ्युउ सीमी, गोलभेडा, फर्सी, गाजर, काउली, बन्दा लगायतका तरकारी सडकमा फ्याकेर प्रदर्शन गरेका हुन् ।
संघर्ष समितिका संयोजक लेखनाथ भुसालले आयात नरोकिँदा यहाँ उत्पादित तरकारीले उचित मूल्य पाउन नसकेको बताएका छन् । जिल्लामा एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरिँदै आएपनि भारतीय तरकारीका कारण स्थानीय उत्पादन न्यून मूल्यमा बिक्री गर्नुपरिरहेको भुसालले बताएका छन्।
उहाँले भन्नुभयो “सङ्घीय, प्रादेशिक र स्थानीय सरकारसँग आयात रोक्न आग्रह गरेपनि सुनुवाइ हुन सकेको छैन”, ।
चितवनमा दैनिक तीन सय टन तरकारी उत्पादन हुँदै आएको छ । पाँच विघाभन्दा बढी जग्गामा तरकारी खेती गर्ने किसान एक सय जना र एक बिघाभन्दा बढीमा गर्ने झण्डै तीन सय जना रहेको भुसालले जानकारी दिएका छन् ।
“हाम्रो आवाज राज्यले नसुन्दा सडकमा तरकारी फ्याकेर आन्दोलन गर्नुपरेको छ”, तरकारी किसान अविन्द्र सुवेदीले भन्नुभयो । कृषकले पुलचोकस्थित सडकमा पाँच ट्याक्टर तरकारी फ्याँकेर विरोध प्रदर्शन गरेका हुन् ।