Tuesday, December 3Nepal News Portal
Shadow

गहुँ सुक्न थालेपछि बाग्लुङका कृषक चिन्तित


काठमाडौं। गत वर्ष यति बेला खेत बारीमा लगाइएका गहुँ जौँले बाला हाल्न सुरु गर्थे । समयमै वर्षा हुँदा कृषकले गहुँ उत्पादनमा घाटा ब्यहोर्नु पर्दैन थियो । तर, यस वर्ष गहुँ लगाएपछि पानी नपर्दा किसान निरास बनेका छन् ।

लामो समयदेखि खडेरीले पसाउन थालेको गहुँ सुक्न थालेपछि बाग्लुङका कृषक चिन्तित बनेका छन्।

गहुँ लगाउँदादेखि नै रोकिएको वर्षा अहिलेसम्म नहुँदा गहुँ पसाउने बेलामा सुक्न थालेको गलकोट नगरपालिका–५ का इन्द्रबहादुर खत्रीले बताएका छन् । उनले बारीको मकै स्याहारेर गहुँ छरेपछि रोकिएको वर्षा अहिलेसम्म नहुँदा बीउसमेत उत्पादन नहुने चित्ना व्यक्त गरे ।

उनी भन्छन्, ‘यतिका महिना बितिसक्यो, पानी पर्दैन, बादल धामलधोमल गर्दा पानी आउँछकी भनेर आकाश तिर हे¥यो पानी पर्ने छाँटकाँट देखिएन, खेतबारीमा लगाएको गहुँ सुक्न थाले, आउँदो बर्खा के खाने होला, गहुँले फल देलाजस्तो छैन, बीउ पनि उत्पादन हुन्न भन्ने चिन्ता छ, बीउ बचेन भने त गाह्रो हुन्छ ।’

गलकोट, जैमिनी, बागलुङ, निसीखोला, बरेङ लगायतका ठाउँमा राम्रो गहुँ उत्पादन हुन्छ । ढोरपाटन, तमान र ताराखोलामा जौँ उत्पादन हुँन्छ । जैमिनीका कृष्णप्रसाद शर्माले करिब आठ रोपनी खेत तथा बारीमा गहुँ लगाएको सुनाउँदै सिँचाइ गर्न नसक्दा सुक्दै गएको बताए । शर्माले पाखोबारीमा बढी गहुँ लगाएको भन्दै पाइपबाट पानी लगाउन सम्भव नभएको सुनाए।

शर्माले भने ‘खेतमा अलिअलि कुलोबाट पानी ल्याएर लगाइयो, पाखो बारीमा लगाएको गहुँ सुकेर मर्न थालिसक्यो, पोहोरपरार पानी पथ्र्यो, बाली राम्रै हुन्थ्यो, यसपालि खै धेरै समय भयो पानी परेकै छैन’, पाटामा लगाएको गहुँमा पाइपबाट पानी लगाउँ भने सम्भव छैन, अब एक सातासम्म पानी नपरेर यस्तै घाम लागि रह्यो भने गहुँ सबै सुक्छ ।’

बागलुङमा कूल सात हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिन्छ । यस वर्ष समयमा पानी नपर्दा गहुँ उत्पादनमा गिरावट आउने कृषि ज्ञान केन्द्र बागलुङको आँकलन छ । केन्द्रका सूचना अधिकारी कुमार पुन सिँचाइ सुविधा भएका खेत र आकाशे पानीको भरमा खेती गरिने बारीमा पनि गहुँ खेती गर्दै आएको बताका छन्।

जिल्लामा गौतम, विजय, स्वर्गद्वारी र धौलागिरि जातको गहुँ लगाइन्छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका अनुसार जिल्लामा ४६ हजार एकसय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । त्यसमध्ये ६ हजार १ सय ४८ हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सहज छ ।

खेतीयोग्य जमिनको २० दशमलव १५ प्रतिशत जमिनमा सिँचाइको सुविधा छ । त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्