काठमाडौं। नेपाल राष्ट्र बैंकले सुपर लुघवित्त वित्तीय संस्था लिमिटेडका विद्यमान सञ्चालक समितिलाई निलम्बन गरेको छ । दाङ तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको सो लघुवित्तलाई केन्द्रीय बैंकले निगरानीमा राखी सञ्चालक समितिलाई निलम्बन गरेको हो ।
राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले सो संस्थाको सञ्चालक समितिलाई निलम्बन गरी संस्थाको व्यवस्थापन नियन्त्रणमा लिई संस्थाको व्यवस्थापन सञ्चालनका लागि केन्द्रीय बैंकबाट व्यवस्थापन समूहरु समेत नियुक्त गरेको छ ।
संस्थाका जिम्मेवार पदाधिकारीहरूबाट भए गरेका कार्यहरूबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६ को खण्ड (क), (ख), (घ), (च) तथा (ञ) मा भएका अवस्थाहरू संस्थामा विद्यमान रहेको देखिएको तथा सञ्चालकहरुबाट संस्था सञ्चालन हुन सक्ने स्पष्ट आधारसमेत नदेखिएकोले केन्द्रीय बैंकले कडा निगरानीमा राखेको थियो ।
साथै, २०७९ असोजमा संस्थाको प्राथमिक पुँजीकोष ३४.३० प्रतिशत र पुँजीकोष ३२.६५ प्रतिशतले ऋणात्मक रहेको, संस्थाको बचतसमेत क्रमिक रूपमा घट्दै गइरहेको तथा आन्तरिक नियन्त्रण प्रणाली र संस्थागत सुशासनसमेत कमजोर देखिएको वस्तुस्थितिका आधारमा संस्थालाई यथास्थितिमा राख्दा बचतकर्ता, सापटी प्रदान गर्ने संस्थाहरू तथा लगानीकर्ताको समेत हित प्रतिकूल हुने देखिएकाले नेपाल राष्ट्र बैंकले बैंकमा भएको प्रावधानबमोजिम संस्थाको विद्यमान सञ्चालक समितिलाई निलम्बन गरेको छ ।
उक्त संस्थाको व्यवस्थापन माघ २३ गतेबाट यस राष्ट्र बैंकको नियन्त्रणमा लिई बैंकबाट ‘नियुक्त अधिकारी’ (व्यवस्थापन समूह) नियुक्त गरी सोही समूहमार्फत संस्थाको व्यवस्थापन सञ्चालन गर्ने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।