काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयबाट सञ्चालनमा रहेको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मा ‘रेभिन्यु मोडल’ सञ्चालनमा ल्याइएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज एक कार्यक्रमबीच उक्त मोडलको शुभारम्भ गरेका थिए । यो प्रणाली सञ्चालनमा आएसँगै वित्तीय प्रतिवेदन ढाँचामा एकरूपता, सेवा प्रवाहमा सहजता, खर्चमा मितव्ययिता र वित्तीय अनुशासनमा सुधार हुने अपेक्षा गरिएको छ ।
आजदेखि सुरु भएको ‘रेभिन्यु मोडल’ धुलिखेल नगरपालिकामा पूर्णरूपमा सञ्चालनमा आइसकेको र अन्य स्थानीय तहहरूमा क्रमशः लागू गर्दै जाने लक्ष्य लिइएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।
रेभिन्यु मोडल शुभारम्भ कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यो प्रणालीको प्रयोगबाट स्थानीय तहको क्षमता अभिवृद्धि गर्दै सही ढङ्गले सञ्चालन गर्न निर्देशन दिए । साथै, आन्तरिक लेखापरीक्षण तथा सरकारी लेखा प्रणालीलाई थप प्रभावकारी बनाउन पनि उनले निर्देशन दिएका छन् ।
कार्यक्रममा आफ्नो धारणा राख्दै राजस्व सचिव डा। रामप्रसाद घिमिरेले सरकारी निकायहरूमा निष्कृय रहेका खाताहरूको खोजी गर्नुपर्ने र सरकारी बाँकी असुलीलाई तीव्रता दिनुपर्ने बताएका छन्।
अर्थसचिव तोयम रायाले हाल सञ्चालनमा रहेका प्रणालीहरूको निरन्तरताको लागि स्रोतको सुनिश्चितता एवं सञ्चित कोष व्यवस्थापन प्रणालीका सम्बन्धमा जानकारी दिँदै सूत्रमा राजस्व मोडलको विकास गर्ने कार्य सह्रानीय रहेको धारणा व्यक्त गरे ।