काठमाडौं । यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडक निर्माण गर्न धेरै निकाय हुँदा समस्या भएको बताएका छन् ।
मंगलबार (आज) मन्त्रालयमा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अब एउटै निकायले सडकको काम गर्ने तयारी गरिएको बताएका हुन् ।
उनले भने, “अहिले महानगर, काठमाडौं विकास प्राधिकरण तथा अन्य निकायले सडक निर्माण र विकास गर्ने भएकाले समस्या भएको छ । एउटै निकायबाट गर्नेगरी हामी छलफल गरिरहेका छौं, काम गर्ने अनेक निकाय भएकाले मन्त्रालयले गरेको प्रगति देखिएन । अन्य निकायले बाटो नबनाउदा हामीलाई गाली गर्ने गरिएको छ ।”
त्यस्तै, भौतिक पूर्वाधारको विकासबिना आर्थिक समृद्धि नहुने मन्त्री श्रष्ठले बताएका छन् । अहिलेको सरकार जनताको आर्थिक समृद्धिलाई केन्द्रमा राखेर काम गर्ने भएकाले जसरी सहज रूपमा र छिटो तरिकाले काम हुन्छ, त्यसैलाई अवलम्बन गर्ने बताएका हुन्।
पहिलो प्राथमिकता सुशासन भएकाले त्यसैअनुसार सिस्टममा काम गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।