Thursday, March 13Nepal News Portal
Shadow

चिया निर्यातबाट बर्समा तीन करोड विदेशी मुद्रा आर्जन


झापा । चिया निर्यातबाट बर्सेनि रु तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको छ । सो मध्ये शून्य दशमलव ५० प्रतिशत चिया आन्तरिक बजारमा खपत हुने गरेको बोर्डका प्रमुख इन्द्रप्रसाद अधिकारीले बताए ।

उनले नेपालमा २७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा चियाको खेती हुँदै आएको बताए । त्यसमध्ये झापामा मात्र १० हजार पाँच सय हेक्टर जमिनमा चियाखेती हुँदै आएको उनको भनाइ छ । उनले भने, “मुलुकमा उत्पादित चियामध्ये ९९ प्रतिशत प्रदेश नं. १ मा हुने गरेको छ ।” प्रमुख अधिकारीले प्रदेश नं. १ मध्ये झापामा सबैभन्दा बढी वार्षिक एक करोड ८० लाख केजी चिया उत्पादन हुने बताए ।

नेपालमा चिया उत्पादन गर्ने ३० अर्थोडक्स र ३८ सिटीसी गरी ६८ वटा ठूला चिया उद्योग रहेको उनको भनाइ छ । उनले मुलुकमा १५० भन्दा बढी साना अर्थोडक्स प्रशोधन उद्योग सञ्चालनमा रहेको जानकारी दिए । बोर्डको तथ्यांकमा मुलुकमा १६० वटाभन्दा बढी चिया बगान रहेका छन् । १५ हजारभन्दा बढी साना किसानले चियाखेती गर्दै आएका छन् भने ७० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको बोर्डको दाबी छ ।

प्रमुख अधिकारीले देशभरमा १७ हजार बढी चिया कृषक चियाखेतीमा आबद्ध रहेको जानकारी दिए । उनले पहाडी भू–भागमा उत्पादित अर्थोडक्स चियाका लागि सरकारले ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ नाम ट्रेडमार्क जारी गरेको बताए ।

उनले झापामा उत्पादित सीटीसी चियाका लागि समेत ‘ट्रेडमार्क’ जारी गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । चिया क्षेत्रमा वर्षौंदेखि पहल गरे पनि ‘अक्सन सेन्टर’ सञ्चालनमा आउन नसक्दा चिया सरोकारवाला चिन्तित छन् । प्रभावकारी गुणस्तरीय ट्रेडमार्क प्रमाणीकरण, चियाको गुणस्तरमा एकरुपता र गुणस्तरीय हरियो चियापत्ती टिपाइमा प्रोत्साहन कार्यक्रम लागु गर्न सके चिया क्षेत्रलाई राहत हुने नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले बताए । रासस

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्