काठमाडौं,१७ मंसिर (ससं) । तुलसीपुरका एक युवक प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
तुलसीपुरको पुरानो मानपुर ६ घर भई हाल तुलसीपुर उपमहागरपालिका वडा नं. ६ हात्तीखौवामा डेरा गरी बस्ने राजेश नेपाली ब्राउन सुगरसहित पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालयका कमाण्डमा खटिएको प्रहरीले नेपालीलाई मंगलबार बेलुका साढे ६ बजेतिर गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो।
शंकास्पद रूपमा हिँडिरहेका नेपालीको शरीर खानतलासी गर्ने क्रममा दश रुपैयाँको नोटमा बेरेर राखेको अवस्थामा ब्राउन सुगर फेला परेको प्रहरीले जानकारी दिएको छ।
नोटमा बेरेर तीन वटा प्लाष्टिकको पुडियामा बनाई ब्राउन सुगर नेपालीले लगाएको पाइन्टको पकेटमा राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
त्यस्तै, हात्तीखौवास्थित उनको कोठामा खानतलासी गर्ने क्रममा फलामको डिब्बाभित्र प्लाष्टिकमा थप दुई पुडिया ब्राउन सुगर फेला परेको पनि प्रहरीले जानकारी दिएको छ।
नेपालीको साथबाट सबैगरी पाँच पुडिया ब्राउन सुगर फेला परेको र त्यसको तौल ५ सय ११ मिलिग्राम रहेको प्रहरीले जनाएको छ। नेपालीमाथि थप अनुसन्धान भइरहेको छ।