काठमाडौं । कुमारी बैंक लिमिटेडले माघ २६ गतेदेखि २७ लाख ५५ हजार २५३ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले साबिक नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापकसँगै अन्य सर्वसाधारण व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १३८ तोकिएको छ । शेयर खरीद गर्न इच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोलक गर्नुपर्नेछ । फागुन ११ गतेसम्म गोप्यशिलबन्दी बोलपत्र पेश गर्ने अवधि तोकिएको छ ।
बोलपत्र पेश गर्दा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । रू. दश लाखभन्दा बढीको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने व्यवस्था छ ।