काठमाडौं । नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा क्रमिकरूपमा सुधार भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय विमानस्थलको विहिबार (आज) तेस्रोपटक अनुगमन गर्दै मन्त्री किराँतीले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताएका छन् ।
उनले भने, “यो नै पूर्ण सुधार होइन । तर क्रमिकरुपमा सुधार भइरहेको छ । यसबाट म आंशिक सन्तुष्ट छु । २४ सै घण्टा खटेर विमानस्थललाई सुन्दर बनाउने ब्यूटीसियनलाई विशेष धन्यवाद छ ।”
बिहानै पुग्नुभएका मन्त्री किराँतीले विमानस्थलको सबै सेवाको सुधारबारे स्थलगत अनुगमन गरेका थिए।
विमानस्थलको शौचालयमा म्युजिक जडान गरिनु, गुनासोका लागि क्यूआर कोड सञ्चालनमा ल्याइनुले सेवाग्राहीलाई थोरबहुत सहज बनाउने अपेक्षा उनको छ ।
हरेक ३० मिनेटमा शौचालय अनुगमनको व्यवस्थासमेत गरिएको छ । सेवाग्राहीको सहजता नै आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै मन्त्री किराँतीले यो सुधारले आफूलाई नभएर सेवाग्राहीलाई सन्तुष्ट बनाउने विश्वास व्यक्त गरेका छन् ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार मन्त्री किराँतीले पाँच सय ट्रलीको मूल्यङ्कन गरी आर्थिक प्रस्तावनासमेत तयार गर्न निर्देशन दिए।
मन्त्री किराँतीले तुलनात्मकरूपमा सुधार भएकामा विमानस्थलको टोलीलाई धन्यवाद दिनुहुँदै बाँकी काम चाँडो टुङ्ग्याउन आग्रह गरेको प्रवक्ता सिटौलाले जानकारी दिएका छन् ।