काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले ल्याएको चालू आर्थिक वर्ष २०७९/८० को बजेटको आकार घटाउने तयारी थालेका छन् ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको चुनावलक्षित बजेट पूर्णरूपमा कार्यान्वयनमा जान नसक्ने निष्कर्ष निकाल्दै त्यसलाई संशोधन गर्ने तयारीमा पौडेल लागेका हुन् ।
अर्थ मन्त्रालयले छिट्टै चालू आर्थिक वर्ष (आव) को बजेटको अर्धवार्षिक समीक्षा गर्दै छ । माघभित्रै अर्धवार्षिक समीक्षा हुने र सोही बेला बजेट संशोधनको तयारी भएको अर्थमन्त्री निकट स्रोतले बतायका छन ।स्रोतले भन्यो ‘विगतमा पनि बजेटको आकारदेखि लक्ष्यसम्म पुनरवलोकन गरिएको थियो, अहिले पनि घटाइँदै छ,’। यस आर्थिक वर्षको मङ्सिरमा चुनाव थियो ।
चुनावका कारण चालू बजेट अधिकतम खर्च भए पनि विकास बजेट खर्च हुन सकेको छैन ।
सरकारले ल्याएको पूँजीगततर्फको बजेटमध्ये अहिलेसम्म १६.१३ प्रतिशत मात्रै खर्च भएको छ । त्यसो त आगामी वर्षको बजेटसमेत अहिलेको भन्दा कम आकारको ल्याउन सरकारलाई योजना आयोगले सिफारिश गरेको छ । सोहीअनुसार अधिकारीहरूले बजेट बनाउन थालिसकेका छन् ।
आगामी बजेट घट्ने अर्थमन्त्री पौडेलले समेत बताएका छन् । बुधवार राजधानीमा भएको एक कार्यक्रममा मन्त्री पौडेलले बजेटको आकार तय गर्दा विगतकै अभ्यास नदोहोर्याउने बताएका छन् । ‘ठूलो आकारको बजेट ल्याउने विगतको अभ्यास छ । तर, हामी त्यस्तो पक्षमा छैनौं । अर्थतन्त्रको संरचनागत परिवर्तन गर्नेमा हाम्रो जोड रहनेछ,’ उनले भनेका छन् ।
विगतदेखि नै बजेट ठूलो आकारको ल्याउने तर कार्यान्वयन कमजोर हुँदा सरकारी अधिकारीको क्षमतामा प्रश्न उठाउने गरिएको छ । मध्यकालीन खर्च संरचनाअनुसार आगामी वर्ष १९ खर्बको बजेट सरकारले ल्याउनुपर्ने हो तर त्यसअनुसार बजेट बनाउन राष्ट्रिय योजना आयोगले अनुमति दिएको छैन ।
योजना आयोगले १५–१६ खर्बको बजेट ल्याउन भनेको छ । अर्थमन्त्री पौडेलले चालू बजेटको समीक्षा र आगामी बजेटको निर्माणमा लाग्न अर्थमा कोर टीम बनाइरहेका छन् ।
हालैको मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर पौडेलले अर्थ मन्त्रालयमा ६ जना सहसचिव ल्याएका छन् ।
अर्थमा लामो अनुभव नभएका अधिकारीहरूलाई अन्त पठाएर पौडेलले अर्थकै अनुभवी क्याडरलाई ल्याएका छन् । अर्थमन्त्री पौडेलको पहलमा बजेट निर्माणमा दखल राख्ने धनीराम शर्मालाई राष्ट्रिय योजना आयोगबाट, वैदेशिक महाशाखामा दखल राख्ने श्रीकृष्ण नेपाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट, झक्कप्रसाद आचार्य र रमेश अर्याललाई श्रम तथा रोजगार मन्त्रालयबाट, सेवन्तक पोखरेललाई सूचना तथा सञ्चार मन्त्रालयबाट र रामप्रसाद आचार्यलाई गण्डकी प्रदेशबाट सरुवा गराएर ल्याएका छन् ।
शर्मा, आचार्य र नेपालसँग यसअघि पनि अर्थ मन्त्रालयमा सहसचिवका रूपमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग काम गरेको अनुभव छ । उपसचिव हुँदा अर्याल अर्थमन्त्री पौडेलका निजी सचिव थिए । पोखरेल राजस्व समूहका उपसचिव थिए । रामप्रसाद आचार्य पनि राजस्व समूहमा काम गरेका कर्मचारी हुन् ।