काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले उद्योगी व्यवसायीहरुको समस्याप्रति सरकार र राष्ट्र बैंक गम्भीर र चिन्तित रहेको बताएका छन् ।
शुक्रबार (आज) काठमाडौंमा नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २३ औं साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीको समस्यालाई कम गर्न राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सहुलियतको योजना तय गरेको बताएका हुन् ।
ऋणीहरुको समस्यालाई केही सम्बोधन गर्न २०८० जेठ मसान्तसम्मका लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिएको उनले बताएका छन् ।
अहिले मुलुकको आर्थिक अवस्था राम्रो नभए पनि आत्तिनु पर्ने अवस्था नरहेको भन्दै अर्थमन्त्री पौडेलले सबै मिलेर प्रतिकुलताका बेला धर्यताका साथ काम गर्नुपर्नेमा जोड दिएका छन् । उनले वर्तमान सरकारले निजी क्षेत्रका समस्यालाई सुनेर समाधानका लागि पहलकदमी लिने प्रतिवद्धता जनाएका छन् ।