Monday, July 22Nepal News Portal
Shadow

लाइसेन्स परीक्षामा नयाँ मापदण्ड लागू


काठमाडौं । बागमती प्रदेशले फागुन २ गतेदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा नयाँ मापदण्ड लागू गर्ने भएको छ। बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका अनुसार भोलिदेखि लिखित तथा ट्रायल परीक्षा ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ अनुसार सञ्चालन हुने भएको छ ।

यातायात व्यवस्था विभागले ट्रायलमा ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था ल्याएको लामो समय भइसकेको छ । विभागले २०७८ जेठदेखि नै निर्देशिकामा भएको व्यवस्था कार्यान्वयन गर्ने बताएको थियो । तर यस्तो व्यवस्था सबै प्रदेश सरकारले लागू गर्न सकिरकेको थिएन ।

प्रदेश नं १, मधेश प्रदेश र गणडकी प्रदेशमा नयाँ व्यवस्था केही समय अघि नै लागू भइसकेको छ । बागमती प्रदेशमा पनि सो व्यवस्था भोलिबाट लागू  हुने भएको हो।

यस्तो छ नयाँ व्यवस्था

नयाँ निर्देशिकाअनुसार परीक्षामा मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप र डेलिभरी भ्यानको लाइसेन्सको ट्रायललाई सहज बनाइएको छ । मोटरसाइकलको परीक्षामा कहींकतै छोए वा भुइँ टेकेमा अनुत्तीर्ण नहुने व्यवस्था छ । नयाँ व्यवस्थाअनुसार घुमाउरो आठमा एक पटकसम्म रेखा छोएमा अनुत्तीर्ण हुनुपर्ने छैन । रेखा छोएमा पाँच अंक घट्नेछ ।

एक पटक खुट्टाले भुइँमा टेके पाँच अंक घट्नेछ । युटर्नमा टर्निङ इन्डिकेटर लाइट नबाले १० अंक र ट्राफिक संकेत पालना नगर्दा १५ अंक घट्नेछ । अंक घट्दै गएर ७० भन्दा कम आएमा मात्र लाइसेन्स पाउन योग्य मानिने छैन । खाल्टाखुल्टीमा एक पटकसम्म भुइँ टेकेमा ५ र एक पटक सवारीको स्टार्ट बन्द भए ५ अंक घट्ने व्यवस्था गरिएको छ । सवारी चलाउनु अगाडि सवारीको ब्रेक, टायर र ऐनाको सामान्य निरीक्षण नगरे तीन अंक घट्ने व्यवस्था निर्देशिकामा रहेको छ । हेलमेटको लक नलगाई सवारी चलाएमा पनि ४ अंक घट्नेछ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्