Tuesday, June 25Nepal News Portal
Shadow

लमसुङको मरेनीमा बहुउद्देश्यीय कृषक समूहद्वारा बाँझो जग्गामा सामूहिक आलु खेती


काठमाडौं। म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङको मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयवासीले सामूहिक आलु खेती सुरु गरेका छन्। लगनशील बहुउद्देश्यीय कृषक समूहले मरेनीमा ४४ रोपनी जग्गामा झाडी फडानी गरेर आलु खेती विस्तार गरेका हुन्।

१ महिनादेखि बाँझो जग्गाको झाडी फडानी गर्ने काम सुरु गरिएकोमा खनजोत सकेर आलु लगाइएको समूहका अध्यक्ष गौसरा विकले बताएका छन्। उनका अनुसार, समूहमा आबद्ध १८ जनाले व्यावसायिक रूपमा सामूहिक आलु खेती गरिएको छ। यस वर्ष समूहले एक सय रोपनी जग्गामा आलु लगाउने तयारी गरेको छ।

मरेनीमा स्थानीयकै जग्गा भाडामा लिएर २० मुरी आलुको बीउ रोपिएको हो। गाउँपालिकाको आलु पकेट कार्यक्रममार्फत सामूहिक रुपमा आलु खेती सुरु गरेका कृषक समूहले मरेनीमा मात्रै ४४ रोपनी जग्गामा स्थानीय जातका आलु लगाएको गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक अमृत थापाले जानकारी दिएका हुन्।

“बाँझो जग्गामा आलु खेती गरिएपछि वर्षै देखि बाँझो रहेको जग्गाको स्वरुप नै फेरिएको छ, यसलाई आगामी वर्षमा निरन्तरता दिन स्थानीय कृषक उत्साहित बनेका छन्, मौसम अनुकूल भएमा सामूहिक आलु खेतीबाट स्थानीयवासीको आयआर्जनमा टेवा पुग्नेछ”, थापाले भने।

गाउँपालिकाले चालू आर्थिक वर्षमा आलु पकेट कार्यक्रमको लागि १२ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ। गाउँपालिकामा आवेदन पेश भएकामध्ये छनोट भएको वडा नम्बर २ को सो समूह र वडा नम्बर ६ मराङको बुलझर्मका कृषि जडीबुटी तथा पशुपन्छी कृषक समूहलाई ६/६ लाख रूपैयाँको दरले बजेट परिचालन गरिने कृषि शाखाले जनाएको छ । सो करमबाट बाँझो जग्गामा खेती विस्तारका साथै मिनिटेलर, हलोलगायतका कृषि औजार सहयोग गरिने जानकारी दिएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्