काठमाडौं, १८ मंसिर (ससं)। मादक पदार्थ सेवन गरी चेक जाँचबाट बच्नको लागि ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने दुईजनालाई ट्राफिक प्रहरीले कारवाही अघि बढाएको छ।
हिजो काठमाडौंको जमलमा चेकिङको क्रममा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई बा. ८२ प.४१८ नम्बरको स्कुटर र बा. २८ प.९२८९ नम्बरको मोटरसाइकल चालकले घुसस्वरूप एक हजार र दुई हजार रूपैयाँ दिएको हुन्।
ट्राफिक प्रहरी जवानलाई घुस दिनेमा स्कुटर चालक दोलखा घर भई भक्तपुर लोकन्थली बस्ने २४ वर्षीय कुमार पाठक र मोटरसाइकल चालक रामेछाप घर भई काठमाडौं जडिबुटी बस्ने २२ वर्षीय शिव खड्का रहेका छन्।
जाँच गर्दा मापसे गरेको भेटिएपछि उनीहरूले घुसको प्रस्ताव गरेका थिए।
ुड्युटीमा खटीएका ट्राफिक प्रहरी जवानले सवारी तथा यातायात व्यवस्था ऐन अन्तर्गत कारवाही गर्न खोज्दा चालकहरुले एक हजार र दुई हजार रूपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेकोले निजहरूलाई पक्राउ गरी कारवाहीको लागि महानगरीय प्रहरी वृत्त दरबारमार्गमा बुझाइएको छ ।