काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । आज ४.५५ अंकले नेप्से परिसूचक वृद्धि भएर २०२७.१९ विन्दुमा रोकिएको हो ।
यस दिन २६२ धितोपत्रको ६५ लाख १५ हजार ८५२ कित्ता दुई अर्ब ५२ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ । सर्वाधिक रकमको सेयर खरिद–बिक्री हिमालयन डिस्टिलरी लिमिटेडको भएको छ । यो कम्पनीको १० करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
त्यस्तै, लघुवित्त कम्पनीको सेयर मूल्यमा खरिदकर्ताको आकर्षण बढेको छ । गत साताको अन्तिम दिन अधिकांश लघुवित्तको सेयर मूल्य सर्वाधिक घटेकाले खरिदकर्ता आकर्षित भएका हुन् ।
आज विजया लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ७.९४ %ले वृद्धि भएको छ । त्यस्तै, ग्रिन डेभलपमेन्ट बैंक र अभियान लघुवित्तको सेयर मूल्य सात प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
कारोबारमा आएका १३ समूहमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक वृद्धि भएको छ । माइक्रोफाइनान्स समूहको परिसूचक सर्वाधिक वृद्धि भएको छ । यो समूहको परिसूचक २.७८ %ले वृद्धि भएको हो ।