Sunday, October 13Nepal News Portal
Shadow

चैते धानको मूल्य तोकिएपछि मोरङका किसानहरु उत्साहित


बेलबारी (मोरङ) । तराईमा अघनी भनिने चैते धानको बेर्ना भर्खर किसानले खेतमा उमार्दै छन् । केही समयपछि धान रोप्ने चटारो सुरु हुन्छ । धान उत्पादन नहुँदै उनीहरूले त्यसको मूल्य प्राप्त गरिसकेका छन् । मूल्य नपाइएला वा बिक्री नहोला कि भन्ने पीर मोरङ बेलबारीका किसानलाई छैन ।

झापा, मोरङ र सुनसरीका पालिकाहरूमा अघनी धानको मूल्य तोकिएसँगै किसान उत्साहित छन् । मोरङको बेलाबारीस्थित डाँगीहाटका किसान त मूल्य तोक्ने प्रक्रियामै सामोल हुन पाए ।

बेलबारी नगरपालिका सखुवाटोलीकी किसान थलकमला पौडेलले भनिन्, “बिक्री गर्ने मूल्य दिएर खरिद गर्ने संस्थाको टुंगो लागेपछि हामीलाई धान नबिक्ला भन्ने पीर नै छैन ।”

उनले गएको वर्ष ३५ मन धान बिक्री गरेकी थिइन् । योपटक झन उत्पादन बढाउने तयारीमा लागेकी छन् ।

अघिल्ला वर्षहरूमा किसानलाई उत्पादन गरेको धान कता बिक्री गर्ने, कसले खरिद गर्ला र चाहेको मूल्य पाइएला/नपाइएला भन्ने चिन्ता हुने गर्थ्यो । स्थानीय किसान चन्द्रबहादुर धिमाल भन्छन्, “हामी दुई बाली धान लगाउँछौँ । तर, चैते धान बिक्री गर्न निकै समस्या हुने गरेको थियो । अब सजिलो भएको छ ।”

नेपाल कृषि केयरले डाँगीहाटमा आरजु राइस मिल सञ्चालन गरेपछि तीन जिल्लाका किसानलाई धानको अग्रिम मूल्य प्राप्त र उत्पादनपछि बिक्री गर्न सहज भएको हो ।

मिलका कार्यकारी अध्यक्ष वीरेन्द्र बस्नेत भन्छन्, “हामी कृषिलाई आधुनिकीकरण गर्नुपर्छ र मेसिनको प्रयोग बढाउनुपर्छ भन्ने अभियानमा छौँ । त्यही भएर किसानलाई प्रविधिसँग जोडिरहेका छौँ ।”

मिलले यो वर्ष राम धानको मूल्य प्रतिकिलो ३२ रुपैयाँ तोकेको छ । मिलले मोरङ, सुनसरी र झापामा उत्पादित धान खरिद गर्नेछ । अघिल्लो वर्ष राम जातको धान प्रतिकिलो ३० रुपैयाँमा खरिद गरेको थियो ।

मिलले यो वर्ष १३ हजार टन धान खरिद गर्ने लक्ष्य राखेको छ । अघिल्लो वर्ष किसानबाट एक हजार २०० टन खरिद गरेको थियो । गत वर्षको धानबाट मिलले बल्ल चामल बनाउन सुरु गरेको छ । यसको बिक्री काठमाडौंलगायत सहरमा गरिने कार्यकारी अध्यक्ष बस्नेतले बताए ।

मिलले किसानलाई सस्तोमा बीउ उपलब्ध गराउँछ । कतिपय किसानले स्थानीय पालिकाबाट समेत अनुदानमा बीउ प्राप्त गर्छन् । यो वर्ष मिलको सहयोगमा ८०० बिघा क्षेत्रफलमा किसानले राम जातको चैते धान खेती गर्दै छन् ।

“डाँगीहाटमा २२ हजार टन क्षमताको मिल सञ्चालनमा छ । ५० हजार टन क्षमताका थप दुई मिल खोल्ने योजना बनाइरहेका छौँ,” उनले भने ।

स्थानीय कृषि सहकारीका अध्यक्ष कर्णबहादुर थापाले सरकारले गर्नुपर्ने काम निजी क्षेत्रबाट हुनु सकारात्मक भएको बताएका छन् । रासस

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्