काठमाडौं । मर्जरमा गएका सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले बुदबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । मर्जरपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार थालिएको हो । एकीकृत कारोबारको प्रारम्भ नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरे ।
सिलवालले अरू बिमा कम्पनीले पनि चैत मसान्तभित्र मर्जरमा गएर पुँजी वृद्धि गर्नुपर्ने बताएका छन् । उनले कम्पनीहरूले पुँजी वृद्धि गरेर विश्व बजारमा भित्रिएका प्रविधिलाई नेपालमा पनि प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए ।
अहिलेको व्यावसायिक चेतले नहुने भन्दै उनले फरक किसिमका बिमालेखहरू ल्याउनुपर्ने बताएका छन् ।
अध्यक्ष सुरेशलाल श्रेष्ठले सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स एकआपसमा मर्जरमा गएसँगै नेपालको सबैभन्दा ठूलो निर्जीवन बिमा कम्पनी भएको जानकारी दिए । उनका अनुसार अब कम्पनीको चुक्तापुँजी २ अर्ब ८० करोड रुपैयाँभन्दा बढी पुगेको छ । बिमा कोषमा २ अर्ब ३४ करोड भन्दा बढी रहेको पनि जानकारी दिइएको छ ।
यसैगरी कम्पनीको कुल सम्पति १० अर्ब २५ करोड छ । बजार पुँजीकरण १८ अर्ब २३ करोड पुगेको छ । कम्पनीद्वारा जारी गरिएको बिमालेख संख्या ४ लाख १७ हजार १८२ रहेको पनि अध्यक्ष श्रेष्ठले बताएका हुन् । यी दुई कम्पनी एक भएसँगै १२५ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्ने बताइएको छ ।
मर्जरपछि बनेको नयाँ कम्पनीमा प्रमुख कार्यकारी अधिकृतमा वीरेन्द्रबहादुर वैदवार क्षेत्री नियुक्त भएका छन् । यी दुवै बिमा कम्पनी १ः१ समान सेयर अनुपातमा एक आपसमा मर्जरमा गएका हुन् ।