Saturday, November 9Nepal News Portal
Shadow

उद्योगीहरुले उधारो तिर्न ताकेता गरेपछि जग्गा लैजान डिलरको आग्रह


काठमाडौं। उद्योगीले उधारो तिर्न ताकेता गरेपछि डिलरहरूले आफूसँग भएको जग्गा लैजान आग्रह गर्न थालेका छन्। बजारबाट पैसा नउठेको र आफ्नो इज्जत जोगाउन डिलरले आफूसँग भएको जग्गा लैजान भनेका हुन्।

‘उद्योगीलाई तिर्नुपर्ने रकम तिर्न नसक्ने अवस्था बनेको छ। हामीले पनि बजारमा उधारो फ्याँकेका छौं,’ एक डिलर आफ्नो नाम उल्लेख नगर्ने सर्तमा क्यापिटल नेपालसँग भने, ‘उधारो दिने पार्टीको दिनहुँ ताकेता भइरन्छ, बाध्य भएर जग्गा लिन भनेका हौं।’

उनका अनुसार दिनदिनै आर्थिक स्थिति बिग्रिँदै गएको छ। अर्थतन्त्रको चक्र नै तोडिएको छ। ‘विगतमा उद्योगीले डिलरलाई निश्चित समयको उधारो पत्याउँथे अनि डिलरले बजारलाई,’ उनले भने, ‘अहिले कसैले कसैलाई पत्याउने अवस्था छैन। सबैजनाले शंकाको दृष्टिले हेर्न थालेका छन्। अर्थतन्त्र भनेको विश्वासमा चल्छ। अविश्वास पैदा हुन थालेपछि चक्र बिग्रिन्छ।’

‘उनीहरूबाट जग्गा लिएर के गर्नु ?,’ एक उद्योगीले भने, ‘अहिले जग्गा किन्ने व्यक्ति पनि कोही छैनन्।’ नेपाल राष्ट्र बैंकले वस्तुको माग घटाउने नीति लिँदा अर्थतन्त्रको वाह्य क्षेत्रमा सुधार भए पनि आन्तरिक अर्थतन्त्र तहसनहस हुन पुगेको छ। केन्द्रीय बैंकले माग घटाएर मूल्य नियन्त्रण प्रयास गरेको छ। तर, आयातमा निर्भर अर्थतन्त्र भएकाले माग घटाउँदा पनि मूल्यवृद्धि नियन्त्रण हुन सकेको छैन।

अहिले ९५ प्रतिशत उद्योग ‘क्यास लस’ मा छन्। उधारो लैजाने पार्टीलाई पैसा तिर्न ताकेता गर्दा ‘कि सामान लैजानुस् भन्छ कि जग्गा’ भन्ने गरेको उद्योगी बताउँछन्। उद्योगधन्दा क्षमताभन्दा निक्कै कम चलिरहेका छन्। उत्पादन माग नभएपछि उद्योगीले क्षमता घटाएका हुन्। खाद्य तथा पेय पदार्थ उत्पादकको अवस्थासमेत दयनीय बनिरहेको छ।

निर्माण क्षेत्रका उद्योगका उत्पादनमा ऐतिहासिक गिरावट आएको छ। सिमेन्ट, डन्डीमात्र होइन, रङरोगनदेखि हार्डवेयरका सामानसम्मको माग उच्च दरले घटेको छ। ‘अहिले व्यावसायिक क्षेत्रले निकै ठूलो अप्ठ्यारो भोगिरहेको छ। एकातिर माग छैन, अर्कातिर जति सामान बिक्री भएको छ, त्यसको भुक्तानी हुन सकेको छैन,’ शंकर ग्रुपका अध्यक्ष शंकर गोल्यानले क्यापिटल नेपालसँग भने, ‘उधारो चक्र झन्–झन् फराकिलो बन्दै गएको छ।’

मुलुकको अर्थतन्त्रप्रति उद्योगी–व्यवसायी निकै चिन्तित देखिएका छन्। क्रयशक्ति गुमेर बजारमा वस्तु मागमा भारी गिरावट आएको उद्योगी बताउँछन्। वाह्य क्षेत्रमा सुधार देखिए पनि आन्तरिक पक्षमा समस्या भएको व्यवसायीको बुझाइ छ। मागमा कमी आउनु, कर्जा प्रवाह बढ्न नसक्नु सकारात्मक संकेत नभएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको भनाइ छ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्