Thursday, September 12Nepal News Portal
Shadow

अर्थतन्त्रको सूचक सुधार्नेतर्फ सरकारको ध्यानकेन्द्रित : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अर्थतन्त्रका सूचकहरूमा सुधार ल्याउन ध्यान दिइरहेको बताएका छन् । आइतबार काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघको २४औँ साधारणसभाको उद्घाटन समारोहमा उनले अर्थतन्त्रका सूचकहरूमा सुधार ल्याउनेतर्फ सरकारले ध्यान दिइरहेको बताए ।

देशमा १० महिनाभन्दा बढीका लागि वस्तु तथा सेवाको आयात धान्न सक्ने वैदेशिक सञ्चिति रहेको भन्दै उनले संकटमा रहेको अर्थतन्त्र सुधारतर्फ गइरहेको बताए । उनले अनावश्यक खालका चालु प्रकृतिका खर्च कटौती गर्दै पुँजीगत खर्चलाई तीव्रता दिने सरकारको प्राथमिकता रहेको उल्लेख गरे ।

भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने, निर्माण व्यवसायीका बाँकी रहेका भुक्तानीहरू समयमै गर्नेतर्फ पनि सरकारको ध्यान रहेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले बैंकको ब्याजदरलाई घटाउन सरोकारवाला निकायसँग छलफल गरी आवश्यक निर्देशन दिएको जानकारी समेत गराए ।

“हाम्रो छिमेककै केही मुलुकहरू वैदेशिक मुद्राको घट्दो सञ्चितिबाट आर्थिक रूपले कठिन अवस्था परेको बेला हामीसँग भने १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्ने वैदेशिक सञ्चिति रहेको छ । यसले हाम्रो अर्थतन्त्र संकटबाट क्रमशः सुधारतर्फ अग्रसर भइरहेको कुरा देखाउँछ । बाह्य क्षेत्र सन्तुलनमा राख्नका निम्ति विगतमा कसिलो मौद्रिक निति जरुरी थियो, तर अहिले त्यो संकट टरिसकेको छ,” उनले भने, “अब आर्थिक गतिविधिलाई कसरी चलायमान बनाउने, अर्थतन्त्रको सूचकहरूमा कसरी सुधार ल्याउने भन्नेतर्फ नै सरकारको ध्यानकेन्द्रित छ । अनावश्यक खालका चालु प्रकृतिका खर्च कटौती गर्दै पुँजीगत खर्चलाई तीव्रता दिने सरकारको प्राथमिकता छ । सबभन्दा धेरै पुँजीगत बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने, निर्माण व्यवसायीहरूका बाँकी रहेका भुक्तानीहरू समयमै भुक्तान गर्ने दिशातर्फ सरकारको ध्यान गएको छ, म यो विश्वास यहाँहरूलाई दिलाउन चाहन्छु ।

निर्माण व्यवसायीप्रति नागरिकको धेरै गुनासो रहेको भन्दै उनले त्यसप्रति सरकार जानकार रहेको बताए । निर्माण व्यवसायीले जिम्मा लिएका कामहरू जिम्मेवार र गम्भीर भएर गर्नुपर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्री प्रचण्डले सार्वजनिक खरिदसम्बन्धी कानुन संशोधन गर्दा सरोकारवालालाई समेत समेट्ने बताएका छन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्