Tuesday, March 18Nepal News Portal
Shadow

नेप्सेको ५ लाख ९ हजार कित्ता सेयर बिक्री राष्ट्र बैंकले गर्ने


काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा रहेको १० % भन्दा माथिको सेयर स्वामित्व राष्ट्रिय वाणिज्य बैंकलाई बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९.५ % सेयर स्वामित्व कायम राखेर अरु सेयर राष्ट्रिय वाणिज्य बैंकलाई बिक्री गर्ने निर्णय भएको राष्ट्र बैंकका कार्यकारी निर्देशक मुकुन्द क्षेत्रीले बताए ।

हाल नेप्सेमा राष्ट्र बैंकको १४.६० % सेयर स्वामित्व छ । नेप्सेमा नेपाल सरकारको ५८.६६ % सेयर हिस्सा छ भने कर्मचारी सञ्चय कोषको १० %, राष्ट्रिय वाणिज्य बैंकको ६.१४ %, प्रभु बैंकको ५ %, लक्ष्मी बैंकको ५ प्रतिशत र धितोपत्र दलाल व्यवसायीहरूको ०.६२ % सेयर छ ।

नेपाल राष्ट्र बैंक ऐनमा २०५८ दोस्रो संशोधनले राष्ट्र बैंकले १० % भन्दा बढी सेयर स्वामित्व राख्न नपाउने गरी व्यवस्था गरेको थियो । जसअनुसार यसअघि नै राष्ट्र बैंकले २० % सेयर बिक्री गरिसकेको छ । अहिले १० %भन्दा बढी रहेको सेयर स्वामित्व केन्द्रीय बैंकले पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलाई बिक्री गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ दोस्रो संशोधन २०७४ ले नेपाल राष्ट्र बैंकलाई कुनै वाणिज्य बैंक, वित्तीय संस्था, सार्वजनिक संस्थान वा कम्पनीको सेयर खरिद गर्ने वा अन्य कुनै पनि किसिमले कुनै वित्तीय, व्यापारिक, कृषि, औद्योगिक वा अन्य संस्थामा स्वामित्वसम्बन्धी अधिकार प्राप्त गर्न नसक्ने व्यवस्था गरेको छ ।

तर, राष्ट्र बैंकले आफ्नोे काम कारबाही वा दायित्व पुरा गर्न सहयोग हुने काम कारबाही गर्ने संस्थालाई सो संस्थाको कुल पूँजीको १० % ननाघ्ने गरी ऋण प्रदान गर्ने वा त्यस्ता संस्थाको सेयरमा स्वामित्व प्राप्त गर्ने सक्ने व्यवस्था गरेको छ ।

सोही व्यवस्थाले गर्दा राष्ट्र बैंकले ९.५ % सेयर बाँकी राखेर अरु सेयर बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले नेप्सेको ५ लाख ९ हजार ३४२ कित्ता सेयर प्रतिकित्ता ६७६ रुपैयाँ ५२ पैसाको दरले ३४ करोड ४५ लाख ८० हजार ४९ रुपैयाँ ८४ पैसामा बिक्री गर्ने निर्णय गरेको हो । उक्त सेयर बिक्री गर्न राष्ट्र बैंक सञ्चालक समितिले निर्णय गरिसकेको राष्ट्र बैंकका कार्यकराी निर्देशक क्षेत्रीले बताए ।

हाल ६.१४ % सेयर स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकले उक्त सेयर खरिद गरेपछि सेयर हिस्सा १० % नाघ्नेछ । प्रभु बैंक र लक्ष्मी बैकले नेप्सेको सेयर खरिद गरेको भएपनि नेप्सेमा कम्पनीको सेयर सूचीकृत हुँदा सञ्चालक समितिमा प्रतिनिधित्व हुन सकेको छैन । तर, राष्ट्रिय वाणिज्य बैंकले भने सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएको छ ।

कर्मचारी सञ्चय कोष्ले प्रतिकित्ता १ हजार ३२ रुपैयाँ, लक्ष्मी बैंकले प्रतिकित्ता १ हजार १ हजार १०१ रुपैयाँ प्रभु बैंकले १ हजार ३०० रुपैयाँमा ३ वर्ष अगाडि नै नेप्सेको सेयर किनेका थिए ।

३ वर्ष अगाडि नै प्रतिकित्ता १ हजार ३०० रुपैयाँमा बिक्री भएको सेयर राष्ट्र बैंकले ३ वर्षपछि ६७६ रुपैयाँमा बिक्री गर्ने भएको हो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक मुकुन्द क्षेत्री नेप्सेको चुक्ता पूँजी बोनस सेयर मार्फत शतप्रतिशत वृद्धि भई १ अर्ब रुपैयाँ पुगेकोले ३ वर्षको अगाडिको मूल्यांकन नआउने बताउँछन् । त्यसमा पनि नेपाल राष्ट्र बैंकले पूर्ण सरकारी स्वामित्व भएको राष्ट्रिय वाणिज्य बैंकलाई सेयर बिक्री गर्दा मूल्यमा धेरै बागर्नेनिङ नभएको उनले बताए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्