Sunday, March 16Nepal News Portal
Shadow

बैंक तथा वित्तीय संस्थामा आजदेखि नयाँ ब्याजदर लागू


काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले घटाएको ब्याजदर आजदेखि लागु भएको छ । वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका हुन् । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो । बैंक तथा वित्तीय संस्थाले आज सूचनामार्फत सो कुराको जानकारी दिएका हुन् ।

आजदेखि निक्षेपमा ०.४ % र कर्जामा १ % प्रिमियम दर घटाउने निर्णय भएको सङ्घका अध्यक्ष सुनिल केसीले जानकारी दिए । उनले सङ्घ ऋणको ब्याजदर घटाउनमा केन्द्रित भएको बताए । हाल बैंकहरुले कर्जामा आधारदरमा ६ %सम्म प्रिमियम लिने गरेका थिए । अब १ % घटेपछि आधारदरमा ५ %सम्म प्रिमियम दर तोक्नेछन् ।

यस्तै, निक्षेपतर्फको साधारण बचतमा न्यूनतम ६ %देखि अधिकतम ८ %सम्म ब्याज दिनेछन् । यसअघि साधारण बचतमा न्यूनतम ६.४२ %देखि अधिकतम ८ .४२ %सम्म ब्याजदर तोकिएको थियो । मुद्दती निक्षेपको ब्याजदर भने स्थिर राखिएको छ । हाल बैंकहरुले मुद्दती निक्षेपमा ११ % ब्याज दिइरहेका छन् ।

यस्तैगरी, संस्थागततर्फ ९ % र ‘रेमिट्यान्स’ मुद्दती खातामा १२ % ब्याजदर तोकिएको छ । यस्तै, विकास बैंकहरुको छाता सङ्गठनका रुपमा रहेको डेभलपमेन्ट बैंकर्स एसोसिएसनले चैतका लागि मुद्दती निक्षेपको ब्याजदर ०.२५ %सम्म घटाएको छ ।

सङ्घको निर्णयअनुसार विकास बैंकहरुले चैत महिनादेखि एकवर्षे वा सोभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११.६० % कायम गरेको छ । त्यस्तै, १ वर्षभन्दा कमको मुद्दती निक्षेपको ब्याजदर ११.५० % कायम भएको । हाल विकास बैंकहरुले १ वर्षे वा सोभन्दा बढी दुवैको व्यक्तिगत मुद्दती निक्षेपमा ११.७५ % ब्याजदर दिँदै आएका थिए ।

यसैगरी, ब्याजदर घटाएसँगै विकास बैंकहरुले चैतमा १ वर्षे वा सोभन्दा माथिको संस्थागत मुद्दती निक्षेपमा ९.६० % र साधारण बचतमा न्यूनतम ६ .६० %देखि ८ .६० % ब्याजदर प्रदान गर्नेछन् । त्यसैगरी, नेपाल वित्तीय संस्था सङ्घ (फाइनान्स) ले मुद्दती निक्षेपको ब्याज दर ०.२० %ले घटाएको छ ।

सङ्घले ३ महिनामाथिको निक्षेपको ब्याज दर ०.१५ % घटाउने निर्णय गरेको छ । फाइनान्स कम्पनीहरुले १ वर्षको मुद्दती निक्षेपमा १२.१० % ब्याज दिँदै आएकामा चैत १ गतेदेखि ११.९० % ब्याजदर कायम गरेका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्